जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने सरकारको नीति : प्रधानमन्त्री

चितवन, १५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताउनुभएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि विकास कार्यालय चितवन र बछौली बहुउद्देश्यी कृषक समूह रत्ननगरले संयुक्तरुपमा आज आयोजना गरेको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताउनुभयो ।
कृषि क्षेत्रको व्यवसायीकरण र विविधिकरणमार्फत मुलुकमा समृद्धि हासिल गर्न पछिल्लो समयमा कृषि क्षेत्रमा जलवायु परिवर्तन ठूलो चुनौतीको रूपमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलवायुमैत्री प्रविधिको अवलम्वन गरेर उत्पादन वृद्धि गर्न र धान तथा चामलको आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । हरित ग्यास उत्सर्जनमा न्यून भूमिका भए पनि जलवायु परिवर्तनको प्रतिकूल असरको जोखिम उच्च रहेका राष्ट्रमध्ये नेपाल भएको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनका दृष्टिले संवेदनशील र प्रभावित उपक्षेत्रमध्ये नेपालको प्रमुख खाद्यान्न बाली धान भएको उल्लेख गर्नुभयो ।
धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनवटै तहको सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गर्नुभयो । परनिर्भरता र व्यापार असन्तुलनलाई कम गर्न र राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले रासायनिक मल र गुणस्तरीय बीउको उपलब्धता, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनलाई प्राथमिकता दिएको उहाँले स्पष्ट पार्नुभयो ।
दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउने राष्ट्रिय प्रतिबद्धता रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रमुख खाद्यान्न बालीको उत्पादन तथा उपलब्धतामा वृद्धि, वितरण प्रणालीमा सुधार र खाद्यान्नको उचित उपयोगमार्फत खाद्यान्नमा आत्मनिर्भरता र दीगो खाद्य तथा पोषण सुरक्षा कायम गरिने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ मनाउन लागिएको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा धान बालीको उत्पादन र उत्पादकत्व वृद्धिमार्फत समृद्ध अर्थतन्त्र निर्माणमा सबैको ठोस योगदान रहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले यान्त्रीकीकरण र आधुनिकीकरणको हिसाबले एकताको भाव झल्कने गरी मन्त्रालयले काम अघि बढाएको बताउनुभयो । कृषि मन्त्रालयको टोली कृषि क्षेत्रको विकासमा अहोरात्र लागिपरेको बताउनुभयो । कृषकलाई सम्मान गर्ने गरी मन्त्रालयले काम गर्ने उहाँको भनाइ थियो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चितवनलाई बीउ उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरिने बताउनुभयो । प्रदेशले एक वडा, एक पकेट क्षेत्र कार्यक्रम सञ्चालनमा ल्याएकाले अबको पाँच वर्षमा उत्पादनमा आत्मनिर्भर बन्ने गरी काम अघि बढाएको बताउनुभयो ।
कार्यक्रममा कृषि विभागका महानिर्देशक नरहरिप्रसाद घिमिरेले प्रविधिको प्रयोग गरेर कृषि कर्म गर्दा उत्पादन बढाउन र लागत घटनाउन सहयोग पुग्ने बताउनुभयो ।