दीर्घकालीन असर पर्ने काम नगर्न एमालेले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं, २० असार । नेकपा एमालेले प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेको भन्दै दीर्घकालीन असर पर्ने कुनै काम नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ ।

महासचिव शंकर पोखरेलद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा नेकपा (एमाले)ले विश्वासको मत फिर्ता लिएपछि सरकार स्पष्ट अल्पमतमा परेको हुँदा दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/ नगराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिएको हाे ।

दुई ठूला दल एमाले र कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको वर्तमान परिस्थितिमा प्रधानमन्त्रीले विश्वासको मत पाउने अवस्था नरहेको विज्ञप्तिमा जिकिर गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ– संसद्का दुई ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको र वर्तमान सत्ता समीकरणको प्रमुख दल नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजिनामा समेत दिइसक्नुभएको अवस्थामा सरकार स्पष्टतः अल्पमतमा परेको अवस्था छ ।

संसदका दुई ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने काम नगर्न/नगराउन नेकपा (एमाले) सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गर्दछ ।

साथै, एमालेले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पुनः अनुरोध गरेको छ ।