तनहुँमा सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण, सतर्कता अपनाउन आग्रह
तनहुँ, २६ साउन । तनहुँमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहमा सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पूजा कुँवरका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने सङ्क्रमित फेला परेका छैनन् । व्यासमा ५७, शुक्लागण्डकीमा एक सय पाँच, भिमादमा दुई, बन्दीपुरमा ३५ र आँबुखैरेनीमा पाँच सय ५४ जनामा डेङ्गी पुष्टि भएको हाे ।
जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरुमा डेङ्गी पुष्टि भएको हो । डेङ्गी सङ्क्रमण बढेसँगै सतर्कता अपनाउन आग्रह गरिएको छ । शुक्लागण्डकी नगरपालिकास्थित तनहुँ सेवा अस्पताल, आले मेडिकल हल, युआरएल ल्याब्रोटोरी, खैरेनीटार अस्पताल र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डेङ्गी परीक्षण गरिएको छ ।
एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबरहरु आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गीको लक्षण भएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिनुभयो ।
पूरा शरीर ढाकिनेगरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।
व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले विगतका वर्षमा जस्तो समस्या खेप्न नपरोस् भनि समयमै घर वरपर जमेका पानीका खल्डाखुल्डी पुर्ने, झाडी पन्छाउने र नाला सरसफाइ गर्ने कार्यलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँका अनुसार १४ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय, टोल विकास संस्थालाई परिपत्र गर्दै अभियान सञ्चालनका लागि निर्देशन दिएको छ
जिल्लाका १० मध्ये तीन स्थानीय तहमा डेङ्गीका बिरामी देखा परेका छन् । आँबुखैरेनी, शुक्लागण्डकी र व्यास नगरपालिकामा डेङ्गीका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो ।
“विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम अगाडि बढाइएको छ”, सूचना अधिकारी कँडेलले भन्नुभयो । विपद् व्यवस्थापनको महामारीलाई ध्यानमा राखी सरोकारवाला निकायबीच बृहत् छलफल गरिएको छ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा डेङ्गीका बिरामी बढ्दै गएपछि उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरिएको केन्द्र प्रमुख डा रामकुमार श्रेष्ठले बताउनुभयो ।
