घिन्ताङघिसी ट्वाक गर्दै पाँचाै दिन पनि मनाए भक्तपुरवासीले गाईजात्रा (तस्बिरहरू)
दिपेन्द्र श्रेष्ठ, मैत्री न्यूज
भक्तपुर, ८ भदौ । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने गाईजात्रा पर्व आज पाँचाैं दिनपनि घिन्ताङघिसी ट्वाक गर्दै मनाएका छन् ।
गाईजात्रा पर्वका अवसरमा आज पाँचाैं दिन पनि भक्तपुरमा नेवार समुदायले टोलटोलबाट घिन्ताङघिसी नाच प्रदर्शन गर्दै जात्रा मनाइएको हाे ।
पूर्णिमाकाे दिन साँझ तौमढीस्थित भैरव मन्दिरबाट गुठी कार्यालयको घिन्ताङघिसी नाच निकालेर भक्तपुर परिक्रमा गरेपछि गाईजात्रा पर्व सुरु भएको थियाे ।
पूर्णिमाकाे दिन तलेजुको पूजागरी साँझ तलेजुबाट गाई निकालेर जात्राको सुरुआत गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।
‘घिनिताङ घिनिता घिन्ताङघिसी त्वाङ्ग’ भनेर सांस्कृतिक गीत गाएर भक्तपुरमा नाचिने प्रसिद्ध घिन्ताङघिसी नाचको आकर्षण जात्रामा रहेको छ । केही वर्षयता घिन्ताङघिसी नाचमा विदेशी पर्यटकको पनि ज्यादै सहभागिता रहेन थालेको छ ।
कृष्णजन्माष्टमीको दिन भैरव मन्दिरमा नेवारी पोशाक हाकुपटासी लगाएर लामबद्ध सयौ महिलाले टोलटोल घुमेर बत्ती दिने परम्परा रहेको छ । यस दिन नारायणको पूजागरी नारायण बत्ती बालेर भक्तपुरका बालबालिका एवं युवाले टाउको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, तौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनःसूर्यमढी पुग्ने प्रचलन रहेको छ ।
दिवङ्गत व्यक्तिको सम्झनामा सुरूभएकाे गाईजात्रा आठ रात नौ दिनसम्म मनाइन्छ ।
तस्बिरहरू