पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य नहुँने
कैलाली, १८ भदौ । गृहमन्त्री रमेश लेखकले देशका पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य नहुने बताउनुभएको छ ।
प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले विशिष्ट परिस्थितिमा नेपाली कांग्रेस र नेपाल कम्ष्युनिष्ट पार्टी (एमाले) मिलेर सरकार बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्यतया संसदीय अभ्यासमा देशको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा हुँदैन, विशिष्ट परिस्थितिमा हामीले मिलेर सरकार बनाउने गरेका छौँ ।”
इतिहासमा कांग्रेस र एमाले मिल्दा सुखद परिणाम प्राप्त गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “खास गरेर देशमा महत्वपूर्ण ‘एजेन्डा’ हुन्छन्, त्यस्ता एजेन्डालाई हामीले मिलेर सम्बोधन गरेका छौँ ।”
गृहमन्त्री लेखकले स्थिर सरकारका लागि स्थिर समीकरण बनाउनु परेको उल्लेख गर्दै शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन, भष्ट्राचार नियन्त्रण गरेर सुशासन कायम गर्न, विकास निर्माणका गतिविधिलाई द्रुत गति दिन तथा मुलुकमा विधिको शासन स्थापना गर्न नयाँ समीकरण बनेको बताउनुभयो ।