मोरङको सुन्दरहरैँचामा मृत भेटिएका दुई नाबालिगलाई आमाले नै विष खुवाएर हत्या गरेको पुष्टि
विराटनगर, १९ भदाै । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र २ नावालिग मृत फेला परेकाे घटनामा आमाले नै विष खुवाएर हत्या गरेको पुष्टि भएको छ ।
मृत भेटिएका दुई नाबालिग दिदीबहिनीलाई आमा अस्मिता कार्कीले नै छोरीहरूलाई विष खुवाएको प्रहरीसमक्ष स्वीकार गरेपछि हत्या गरेको पुष्टि भएको हाे ।
प्रहरीले मृतकका आमा अस्मिता कार्कीलाई झापाको बिर्तामोडमा फेला पारेका थिए । कार्कीले पतिले आफूलाई मानसिक तनाव दिएको प्रहरी समक्ष बयान दिएकी छन् ।
उनले आफूले छोरीहरूलाई विष खुवाएर आफूले पनि खाएको बताएको प्रदेश प्रहरी कार्यालय कोशीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिनुभयाे ।
प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दाहालले भन्नुभयाे, ‘पहिला आफूले विष खाएर छोरीहरूलाई पनि खुवाएको देखिएको छ ।’ उनको शरीरमा अझै विषको असर रहेकाले कोशी अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएकाे छ ।
सुन्दरहरैँचा-७ का स्थानीय नारायण न्यौपानेको केरा बगानमा १ वर्षीय आइका र ३ वर्षीय अर्पणा कार्की गत शनिबार दिउँसो मृत अवस्थामा भेटिएका थिए ।