याे सरकारले देशमा भ्रष्ट्राचार नियमन गरी सुशासनको प्रत्याभूति दिन्छ : गृहमन्त्री लेखक
कञ्चनपुर, २० भदौ । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बनाएकाे स्थीर सरकारले देशमा भ्रष्ट्राचार नियमन गरी सुशासनको प्रत्याभूति दिने बताउनुभएकाे छ ।
आज शुक्लाफाँटा नगरपालिका –१० झलारीमा कार्यकर्ता भेटघाटमा बोल्दै उहाँले मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) बिच समिकरण बनाइ स्थीर सरकार गठन भएको हो । उहाँले भन्नुभयाे, याे सरकारले देशमा भ्रष्ट्राचार नियमन गरी सुशासनको प्रत्याभूति दिन्छ । उहाँले शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
“सरकार अस्थीर हुँदा नयाँ समिकरण बन्ने भत्किने अवस्था थियो”, उहाँले भन्नुभयो, “सेवाप्रवाह ठिक ढङ्गले हुन सकेन, विकास निर्माणसँगै सुशासन अगाडि बढ्न पाएका थिएनन् ।” सात बुँदे सहमतिको जगमा बनेको सरकारले देशमा भ्रष्ट्राचार नियमन गरी सुशासनको प्रत्याभूति दिने र दीगो शान्ति सुरक्षा प्रदान गर्न कटिबद्ध भएर अगाडि बढ्ने उहाँको भनाइ छ ।
संविधानको कार्यान्वयन ठिक ढङ्गले गर्न आगामी निर्वाचनसम्म सत्ता समिकरण रहिरहने उहाँले बताउनुभयो । १८ वर्षदेखि थाती रहेको सङ्क्रमणकालीन न्यायको काम नयाँ गठबन्धनको स्थिर सरकार बनेपछि टुङ्गोमा पुगेको उहाँले उल्लेख गर्नुभयो । जसले गर्दा सरकारप्रति जनतामा विश्वास बढेको उहाँको भनाइ छ ।
कञ्चनपुरलाई भारत, नेपाल, चीनबिचको त्रिदेशीय नाकाको रुपमा विकसित गरिने गृहमन्त्री लेखकले बताउनुभयो । दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणसँगै महाकाली करिडोर निर्माणलाई तीव्ररुपमा अगाडि बढाइने उहाँले उल्लेख गर्नुभयो ।
त्रिदेशीय नाका बनाएर यहाँ उत्पादित वस्तुलाई निर्यात गर्न दैजी छेला औद्योगीक क्षेत्रमा उद्योग स्थापना गरिने उहाँले जानकारी दिनुभयो । भूमिसम्बन्धी आयोग गठनको कार्य अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो ।
सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न योजनाबद्ध रुपमा अगाडि बढेको उहाँको भनाइ छ । लागुऔषधको समस्या चुनौतीका रुपमा रहेकाले उहाँले भारतीय विदेश सचिवसँगको भेटमा सीमापार क्षेत्रबाट हुने लागुऔषध ओसारपसार रोक्न जोडदार रुपमा मुद्दा उठाएको बताउनुभयो ।