नेपाली कांग्रेसले माग्यो उपसभामुख रानामगरको राजीनामा
काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ ।
नेपाली कांग्रेसका शीर्ष नेताहरुको आज बसेको बैठकले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा मागेकाे हो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेपाली कांग्रेसकाे चाहना अनुरूप उपसभामुखले प्रक्रियामा जानुभन्दा बहिर्गमनको बाटो रोज्नु भए राम्रो हुने बताउनुभयाे ।
उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकाे घटना बाहिर आएकाे थियाे । चार पुरुष र एक महिलाका लागि उपसभामुखले पत्र लेखे पनि अमेरिका जान भने पाएका थिएनन् ।
२०२३ को फेब्रुअरीमा लेखेको त्यही पत्र केही समय अघि सार्वजनिक भएको थियो । पत्र सार्वजनिक भए लगत्तै उपसभामुख गम्भिर विवादमा पर्नुभएकाे थियाे ।
बुधबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकले पनि उपसभामुख रानामगरमाथि उठेको विषय सामान्य नभएको निष्कर्ष निकालेकाे थियाे ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा पनि उपसभामुख रानामगरको विषयले प्रवेश पाएको थियो ।