सभामुखले बोलाउनुभएको बैठक निष्कर्ष विहीन

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने विषयमा सभामुख देवराज घिमिरेले बोलाउनुभएको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीका प्रमुख सचेतकको बैठकमा ठोस सहमति हुन नसकेपछि बैठक बिना निष्कर्ष टुङ्गिएको हाे ।

प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजेका लागि बोलाइएको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संसद्मा ‘जनयुद्ध’का सम्बन्धमा व्यक्त भएको धारणाप्रति आफूहरुको विरोध रहेको र त्यसलाई सच्याउनुपर्ने बताउनुभयो । उहाँले बैठकमा व्यक्त भएको धारणाका आधारमा आफ्नो संसदीय दलको बैठकमा छलफल गर्ने उल्लेख गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखका विषयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतकले आफूहरुले त्यस्तो केही गर्न नलागेको भन्ने जानकारी गराउनुभएको बताउनुभयो ।

उपसभामुख रानाले पदीय आचरण अनुकूल काम नगरेको भन्दै सदनमा सत्तापक्षका सांसदहरुले धारणा राख्नुभएको थियो ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाले सदनको बैठकलाई सहज रुपमा सञ्चालन गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँले संसद्को प्रतिष्ठा राख्ने विषयमा सबै राजनीतिक दल र सांसदहरुको कर्तव्य हुने उल्लेख गर्नुभयो । उहाँले उपसभामुखका विषयमा सत्तापक्षका बीचमा आन्तरिक रुपमा कुराकानी भएपनि कुनै निर्णय नभएको जानकारी दिनुभयो ।

रास्वपाबाट उपसभामुख बन्नुभएका रानामाथि केही युवालाई अमेरिका पठाउन अन्तर्वार्ताका लागि समय मिलाइदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेको आरोप थियाे । रास्वपाले उपसभामुखबाट कमजोरी भएको स्वीकार गरिसकेकाे छ ।