आज विश्वकर्मा पूजा, सवारीसाधन कलकारखाना पुजा गरेर मनाइदै

काठमाडौं, १ असाेज । आज विश्वकर्मा पूजा आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी मनाइएको छ ।

हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । समुद्रमन्थनबाट निस्किएका मानिने विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वासका साथ यो पर्व मनाइने गरिएकाे जनविश्वास रहेकाे पाइन्छ ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्‌को मूर्ति वा तस्वीर राखेर विधिपूर्वक पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ । यस दिन कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर पुजा गरेर मनाइन्छ ।

यस दिन पुजा गरेकाे विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ ।

आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास गरिन्छ ।

आज नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्ति पीठमा गएर आफ्नो सवारी साधन पूजा गर्ने गर्दछन् ।