बैतडीमा भाइरल ज्वरोका बिरामी बढे, स्वास्थ्य संस्थामा बिरामीको चाप

बैतडी, २ असोज । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।

पछिल्लो केही सातायता जिल्लाभरिका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढेको हाे ।

यहाँका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, निजी क्लिनिकमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका स्वास्थ्यकर्मीले बताएका हुन् ।

स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले जिल्लाभरिका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मौसममा आएको परिवर्तनसँगै जिल्लाका गाउँगाउँमा भाइरल ज्वरोको बिरामीकाे सङ्ख्या बढेको छ । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी हुने गरेका छन् ।”

अस्पातलका सूचना अधिकारी चन्द्र डोबालका अनुसार पहिलेको तुलनामा हाल भाइरल ज्वरोका बिरामी बढेका छन् । उपचारका लागि आउने बिरामीमध्ये ६० प्रतिशत भन्दा बढीमा भाइरल ज्वरो देखिएको उहाँले जानकारी दिनुभयो ।

उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका रहेका भन्दै टाइफाइड, श्वासप्रश्वास, डेङ्गी, स्क्रब टाइफसलगायत समस्या भएका बिरामी आउने गरेका सूचना अधिकारी डोबालले बताउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा आउने बिरामीमध्ये ५० प्रतिशत भाइरल ज्वरोका बिरामी रहेका केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दैनिक ८० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेकामा करिब ५० प्रतिशत भाइरल ज्वरोका छन् ।”

पछिल्लो समय जिल्लामा भाइरल ज्वरोका साथै टाइफाइड, स्क्रब टाइफस, डेङ्गीलगायत बिरामी फेला परिरहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले जानकारी दिनुभयो ।

प्रमुख भट्टले ज्वरोका बिरामीले मेडिकलबाट आफूखुसी औषधि किनेर प्रयोग गर्ने भएकाले यसले थप समस्या हुने भएकाले चिकित्सकको सल्लाह अनुसार मात्र औषधि सेवन गर्नुपर्नेमा जोड दिनुभयो ।