संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबाट राजनीतिक तहमा देखिएका अस्थिरताको सम्बोधन गर्न सकिने बताउनुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले संसद्मा रहेको सबै राजनीतिक दलको सहमतिबाट संविधान संशोधन अघि बढाइने विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “संशोधन प्रक्रियामा संसद्को गणितीय सङ्ख्या मात्रै हेर्ने छैनौँ, सरकारमा रहेका पार्टीहरुको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिनेछ”। उहाँले भन्नुभयो, “संविधानलाई समयानुकूल बनाउनुपर्छ, समयानुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो, ‘लिखत र मर्म’ अनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु हो ।”

प्रधानमन्त्री ओलीले प्राप्त अधिकारको रक्षा र कार्यान्वयन अबको लडाईं भएको उल्लेख गर्दै राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिका लागि सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । “एउटा युवाले देशभित्रै रोजगारी पाउँछु भनेर ढुक्क हुन पाओस्, श्रमिकले मर्यादित काम पाउँछु भनेर विश्वास गर्न सकोस्, नागरिकलाई स्वास्थ्योपचारमा समान पहुँच होस्, कसैको भोको शरीरले ओछ्यान छुन नपरोस् । बालबालिका सडकमा होइन, विद्यालयमा भेटिउन्, किसानले कृषि उपजको बजार र मूल्य पाऊन्” भन्ने वातावरण बनाउनेतर्फ वर्तमान सरकार सचेततापूर्वक अघि बढिरहेको स्पष्ट पार्नुभयो ।

सो वातावरण बनाउन सरकारले प्रथमतः मौलिक हक कार्यानवनयका लागि आवश्यक कार्यायोजना तयार पार्ने काम गरिरहेको प्रधानमन्त्रीले जानकारी दिनुभयो । उहाँले नीतिगत रुपमा अहिले मौलिक हक कार्यान्वयनका लागि बनेका कानुनको प्रभावकारी कार्यान्वय गर्न आवश्यक कार्ययोजना बनाउने कामले तीव्रता पाएको स्पष्ट पार्नुभयो ।

संविधानले सबैलाई प्रतिस्पर्धाका लागि समान आधार तयार गरेको जनाउँदै प्रधानमन्त्री ओलीले सर्वकालिक सामाजिक सुरक्षाबाट ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्यसेवासहित संरक्षण थालनी गरिएको स्पष्ट पार्नुभयो ।

स्टार्टअप, स्वरोजगारी एवं उद्यमशीलतामा लगानी गर्ने र त्यसमा धेरैभन्दा धेरै युवालाई संलग्न गर्ने सरकारको नीति रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भविश्यका लागि अहिले युवा र बालबालिकामा धेरै लगानी गर्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताउनुभयो ।

नेपाल र नेपालीका लागि आज विशेष दिन भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले वर्षौं लामो सङ्घर्ष, हजारौँको बदिलान र अथक मेहिनेतबाट आजैका दिन देशको मुलुक कानुन बनेको स्मरण गर्नुभयो । प्रधानमन्त्रीले ‘जनताद्वारा जनताका लागि’ लिपिबद्ध गरिएको यस ऐतिहासिक दस्तावेज बनाउने संविधानसभाले आधा दशकभन्दा बढी समय लगानी गरेको बताउनुभयो ।

विगतको सङ्घर्षसँगै तय भएका गन्तव्य, सँगै हिँडेको यात्रा र हासिल गरेका साझा उपलब्धिलाई संविधान दिवसले सम्झाउने उल्लेख गर्दै प्रधानमन्त्रीले अनेक जालझेल र घेराबन्दी छिचोल्दै बनेको संविधानको रक्षा, संवद्र्धन र विकासका लागि प्रण गर्ने तथा यसको प्रभावकारी कार्यान्वयनका लागि उत्प्रेरित गरिरहेको अनुभूति प्रकट गर्नुभयो ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत नागरिक समाजका तर्फबाट विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । समारोहस्थलमा नेपाली सेनाको हेलिकप्टरमार्फत ‘संविधान तथा राष्ट्रिय दिवस २०८१’ अङ्कित ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । सो क्रममा शान्तिको प्रतीक सेतो परेवासमेत उडाइएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *