जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द

काठमाडाैं, १३ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ ।

जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान आयोजनाको दुई ढोका खोलेर पानी बाहिर निकालिएको थियो ।

बाँध खोलेर जलाशयको पानीलाई निकाशा दिएपछि जलसतह केही घटेकाले आज ढोका बन्द गरिएको कुलेखानी प्रथम जलविद्युत् आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुलेखानीको जलाशयमा कुल एक हजार पाँच सय ३० मिलिमिटर पानी भण्डारण गर्ने क्षमता भएपनि शनिबार एक हजार पाँच सय ३१ मिलिमिटर पानी भरिएर खतराको सङ्केत देखिएपछि दुई ढोका खोलिएको थियो ।

शनिबार साँझदेखि वर्षा रोकिएको भन्दै ढोका खोलेर पानी बाहिर निकालिएकाले जलाशयमा जलसतह घटेको प्रमुख भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले जल विद्युत् उत्पादन पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *