सम्पदा संरक्षण गुठी चाैताराले गर्याे सिन्धुपाल्चाेकमा पहिलाेपल्ट बिहार स्थापना

सिन्धुपाल्चाेक, १४ असाेज । सम्पदा संरक्षण गुठीका अध्यक्ष रविन्द्र श्रेष्ठकाे पहलमा सिन्धुपाल्चाेककाे चाैतारामा पहिलाे पटक सम्पदा बुद्ध बिहार स्थापना गरिएकाे छ ।

भक्तपुरस्थित मुनीबिहारबाट गएकाे भिक्षु विपस्सी महास्थविर र मेधंकर स्थविरकाे टाेलीले बुद्धकाे मुर्ती प्रतिस्थापन गर्दै सम्पदा बुद्ध बिहार स्थापना गर्नुभएकाे विहारका संस्थापक रविन्द्र श्रेष्ठले जानकारी दिनुभयाे । उहाँले सम्पदा र संस्कृति सम्बन्धि काम गर्ने भएकाेले बिहारकाे नाम पनि सम्पदा बुद्ध बिहार राखिएकाे बताउनुभयाे ।

भक्तपुरस्थित मुनीबिहारका भिक्षु विपस्सी महास्थविरकाे संरक्षकत्वमा बिहार स्थापना भएकाे हाे । ललितपुरस्थित कनिबहाल निवासी समाजसेवी अमिर शाक्यको संयोजनमा पहिलो बुद्धको मुर्ती बिहारमा स्थापनाका लागि दान प्राप्त भएकाे हाे ।

 

सम्पदा संरक्षण गुठी चाैताराले जिल्लामा पछिल्लोपटक संस्कृति र सम्पदा जोगाउन प्रयत्न गर्दै आएकाे छ । सम्पदा संरक्षण गुठी चाैतारा अध्यक्ष रविन्द्र श्रेष्ठका अनुसार श्री श्वेतभैरवको प्रतिमा स्थापना गरिसकेकाे र उक्त प्रतिमा उपत्यका बाहिरकै सबैभन्दा ठूलो श्वेतभैरवको प्रतिमा भएकाे बताउनुभयाे ।

श्वेतभैरवको स्थापनापछि जिल्लामै पहिलोपटक चौताराका स्थानीयवासीन्दाले हर्षोल्लासपुर्वक इन्द्रजात्रा मनाएका छन् ।

श्रेष्ठले करुणामयको मन्दिर पनि आफ्नै लगानीमा निर्माण गरेका छन् । करुणामयको प्राणप्रतिष्ठा यहि असाेज महिनाकाे १८ गते गर्न लागिएकाे पनि उहाँले बताउनुभयाे । प्राणप्रतिष्ठा गरिसकेपछि चाैताराका स्थानीयले रातो मच्छिन्द्रनाथको पनि जात्रा सुरु गर्न लालायित भएकाे उहाँले बताउनुभयाे ।

सम्पदा संरक्षण गुठीको सक्रियतालाई धेरैले प्रशंसा गरेका छन् भने नयाँ पुस्ता पनि यसप्रति जागरुक बन्दै आएका छन् । गुठीको सक्रियतामा स्थानीय युवाहरूले जात्रा पर्व आफ्नै नीजी श्राेत साधनले चलाउँदै आएकाे श्रेष्ठले बताउनुभयाे ।