सर्च कमिटीलाई पूर्णता दिन शीर्ष नेताहरु सहमत

काठमाडौं, १ कात्तिक । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिसका लागि गठित सर्च कमिटीलाई पूर्णता दिन प्रमुख तीन दल सहमत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग छिटो गठन गर्नेबारे छलफल भएको बैठकमा सहभागी एक नेताले बताउनुभयाे ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संसदले संशोधन गरिसकेको छ । तर हाल सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारीविहीन छन् ।
सरकारले यसअघि नै पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा दुबै आयोगका पदाधिकारी सिफारिस समिति (सर्च कमिटी) गठन गरेको थियो । तर राष्ट्रिय मानवअधिकार आयोगले सदस्य नपठाएपछि सिफारिस समितिले पूर्णता पाउन सकेको थिएन ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सर्च कमिटीलाई पूर्णता दिने सहमति भएकाे हाे ।