तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछ: उपराष्ट्रपति
काठमाडौँ, १५ कात्तिक । उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहारलगायत पर्वले मुलुकको अर्थ व्यवस्थालाई चलायमान बनाउनमा सहयोग पुग्ने बताउनुभएको छ ।
तिहार पर्व, २०८१ को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुहुँदै उहाँले पर्यावरणको दृष्टिकोणले शुभ दीपावली मनाउने क्रममा पटाका पड्काउनुले पर्यावरणमा नकारात्मक प्रभाव पर्नेतर्फ सचेत रहन अनुरोध गर्नुभयो ।
उपराष्ट्रपति यादवले यस पर्वले सामाजिक सौहार्दता, भाइचारा एवं राष्ट्रिय तथा सामुदायिक एकताको भावनालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । “तिहार धार्मिक, सांस्कृतिक र सामाजिकताको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण पर्व हो । यो एउटा पर्व मात्रै होइन नेपाली संस्कृति र परम्पराको अभिन्न हिस्सा पनि हो ।
मुख्यतः हिन्दू, जैन र सिख धर्मावलम्बीले अत्यन्तै आस्था र श्रद्धाभावका साथ यो पर्व मनाउँछन् । नेपालमा विभिन्न धर्मावलम्बीको बसोबास रहेकाले अन्य धर्मका अनुयायीहरू पनि आफ्ना इस्टमित्र र छरछिमेकीसँग मिलेर यो पर्व सौहार्दताका साथ मनाउनु हामो मौलिक विशेषता हो”, उहाँले उल्लेख गर्नुभयो ।
तिहार विभिन्न रीतिरिवाज, रहनसहन, परम्परा र अनुष्ठान समावेश भएको विविधतामा एकताको सन्देशवाहक पर्व पनि भएको उपराष्ट्रपति यादवको भनाइ छ । यस पर्वका अवसरमा गरिने घरआँगनको सरसफाइ, घरघरमा दीप प्रज्वलन, धनतेरस, देउसीभैलो, कागतिहार, कुकुरतिहार, लक्ष्मी पूजा, गाई पूजा, गोवर्धन पूजा, हुर्राहुर्री, डाढ, म्हः पूजा र भाइटीका (भ्रातृ द्वितीया) आदि यसका सांस्कृतिक विशेषताका रहेका सन्देशमा उल्लेख छ ।
प्रकाशमय यो पर्वमा देवी लक्ष्मीको पूजाआराधना गरे धन, समृद्धि र सफलता प्राप्त हुने एवं दरिद्रताको नाश हुने जनविश्वास रही आएको छ ।