कार्तिक शुक्ल अष्टमी अर्थात् कछलाथ्व अष्टमीको दिन आज मुखाष्टमी मनाइयाे

काठमाडाैं, २४ कार्तिक । हरेक वर्ष कार्तिक शुक्ल अष्टमी अर्थात् कछलाथ्व अष्टमीको दिनलाई मुखाष्टमी ( शिवलाई मुकुट पहिर्याउने दिन) मनाइएकाे छ ।

मुखाष्टमी भनेको मुखल अर्थात् मुकुट लगाइदिने अष्टमी हो। आजको दिन विभिन्न शिवालयमा शिवलिङ्गमा श्री पञ्चबुद्ध रहेको मुकुट पहिर्याउने गरिन्छ।

वर्षमा आउने ४ प्रमुख अष्टमीहरु मध्ये एक मानिने मुखाष्टमीको दिन एक छाक मात्र खाइ मुखँ अप्सँ भनि व्रत बस्ने चलन रहि आएको छ।

मुखाष्टमी हाल पशुपतिनाथ र पाटनस्थित सर्वेश्वर महादेवमा मात्र सिमित हुँदै गएको पाइन्छ । यस दिन पशुपतिनाथलाई लोकेश्वर करुणामयको अवतार धारण गरेको भनिन्छ भने सर्वेश्वरमा पनि मुकुट लगाइदिएर विधिपुर्वक पूजा गरेपछि सो एक दिनको लागि शिवलिङ्ग नभइ चैत्यको रुपमा पुजिन्छ।

यस्तै शिवरात्रीको दिन पाटनको प्रसिद्ध करुणामय – रातो मछिन्द्रनाथलाई पनि शिवको भेषमा राखिन्छ र सो दिन लोकेश्वरले शिवको अवतार धारण गरेको मानिन्छ। सुन्दा अनौठो लागे पनि, काठमाडौ उपत्यकाको रैथाने संस्कृती यो धार्मिक सहिष्णुताको अनुपम नमुना हो ।

उपत्यकामा शिवलिङ्गलाई मात्र चैत्यको रुपमा लिने नभइ विभिन्न चैत्यहरु जलद्रोणी सहित पनि बनाइएका हुन्छन भने त्यसलाई शैव-बौद्धको धर्मको रुपमा लिइन्छ।

किन लगाइदिन्छ त शिवलाई मुकुट?

यसको बारे जान्नलाई यहाँको प्रचलित किंवदन्ती सुन्नपर्ने हुन्छ। प्रचलित किंवदन्ती अनुसार विरुपाक्ष नाम गरेका एक सुन्दर युवक १२ वर्षको उमेरमा आफ्नो घर छोडी वनमा बस्न गए। वनमै आफ्नो बासस्थान बनाइ बसेको थुप्रै वर्ष भयो र उनी युवक भए।

एकदिन संयोगले आमा र छोराको जम्काभेट भयो तर थुप्रै वर्ष भइसकेकोले दुबैले एक अर्कालाई चिनेनन् र उनीहरु एक अर्काप्रती आकर्षित भइ कामवासनामा लीन भइ संभोग गरे।

विरुपाक्षले पछि आफ्नो आमा हो भन्ने थाहा पाएपछी पाप मोचन गर्नाको लागि पशुपतिको शरणमा गए र महादेवले तामा पगालेर त्यसको झोल बनाएर पिए सबै पापबाट मुक्त हुन्छौ भनी पठाए। आज्ञा अनुसार तामा पकाइ अब पग्लियो होला भनी खोली हेर्दा, त्यसको रापले गर्दा उनी कुरुप भए। महादेवले आफूलाई झुक्याएको बुझी उनी बुद्ध कहाँ गए र बुद्धले उनलाई एउटा जपमाला दिए र मन्त्र जप गरेर जुन दिन खिइन्छ, तब पापमुक्त हुनेछौ भनी पठाए।

त्यसपछी उनी बाग्मती किनारमा बसि हरेक दिन जप गर्दै बस्न थाले, तर धेरै समय जप गर्दा पनि माला नखिइएपछि दिक्क मानेर चहार्न हिँडे। यत्तिकैमा उनले एउटा बालक फलाम घोट्दै गरेको देखे र बच्चालाई सोध्दा फलाम घोटेर सियो बनाउन लागेको जवाफ पाए। त्यसपछी उनी फेरि जप गर्न थाले र एक दिन फेरि उनले वनमा दुइजनाले सियोले रुख काट्न खोजेको देखे र कुनै दिन भंगेरा जोडीले आफ्नो चुच्चोमा बाग्मतीबाट पानी ओसार्दै गरेको देखे।

भंगेरालाई सोध्दा जवाफमा पोखरी भर्नलाई भन्ने पाए। यसरी विभिन्न असामान्य काम देखेर अन्तिममा विरुपाक्षले जप मात्र गरेर नहुने तर धैर्यता, विश्वास र एकचित्त चाहिने भनी बुझेर तन मनले जप गर्न थाले र केही समयपछी माला खिइयो र उनी पाप मुक्त भए। उनको कुरुप अनुहार पनि पहिले जस्तै सुन्दर भयो। पशुपतिले आफूलाई कुरुप बनाएको कुराको रीसले उनले पाशुपात क्षेत्रमा शिवलिङ्गहरुमा लात हान्दै बिगार्दै हिँड्न थाले।

आफूलाई पनि बाँकी नराख्ने बुझेर महादेवले बुद्धलाई पुकार गरे र बुद्धले आफ्नो पञ्चबुद्ध सहितको मुकुट दिई पहिरिन भने। विध्वंस गर्दै हिँडेका विरुपाक्ष पशुपतिको सामुन्ने पुग्दा त्यहाँ बुद्धको मुकुट देखि गुरुको सम्मानमा केही नगरी फर्किए। यसै अनुरुप श्री पशुपतिनाथलाई बुद्ध मुकुट लगाइदिएको भन्ने प्रचलन छ। आज पनि पशुपात क्षेत्रमा रहेको यता उता ढल्केको बिग्रेको शिवलिङ्गहरु, विरुपाक्षले गरेको निशानी हो भनी मान्दछन्।

आजको दिन बज्रयान र महायान बौद्धमार्गीहरुले १०८ लोकेश्वर मध्येका अन्तिम लोकेश्वर धर्तिमा आउनुभएको दिनको रुपमा लिने गर्दछन्। साथै परम्परा अनुसार आजको दिन बज्रयानी बौद्ध धर्मावलम्बीहरु पशुपतिको दर्शन गर्न जाने गर्दछन्।

हाल पनि पाटनको कुम्भेश्वर मन्दिर भित्र, सर्वेश्वर महादेवको ठूलो शिवलिङ्गमा पञ्चबुद्ध भएको तामाको मुकुटले छोपी दर्शनको लागि राख्ने गरिन्छ। यस दिन कुम्भेश्वर क्षेत्रमा मेला पनि लाग्ने गर्दछ भने कुम्भेश्वर मन्दिरलाई पाटनको पशुपतिनाथको रुपमा लिइने गरिन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *