मल्लकालिन अमूर्त सम्पदा कात्तिक नाच, पहिला जस्तै एक महिनासम्म संचालन होला?
काठमाडौं । कात्तिक २३ गते शुक्रबार। साँझ ७ बजे यता पाटन दरबार क्षेत्रमा भिड बढ्दै गयो। कात्तिक डबलीमा केही मानिस बाजा लिएर पुगे। उनीहरुले परम्परागत बाजामा विभिन्न राग पस्किए। लगत्तै दरबार क्षेत्रबाट देवगणहरु डबलीमा आए र नृत्य प्रस्तुत गर्न थाले।
यो वर्ष कात्तिक २१ गतेदेखि सुरु भएको कात्तिक नाचले अहिले रातिको समय पाटन दरबार क्षेत्र थप जगमग बनिरहेको छ। यसबिच कात्तिक २३ गतेको साँझ बाथ: प्याखं – कौला खिचा नाच हेर्न मानिसहरु चिसो मौसममै मंगलबजार क्षेत्रमा पुगेका थिए।
बाथ प्याखं लगत्तै एकजना बाह्रमण व्यक्ति बाख्रा लिएर डबलीमा पुग्छन्। त्यसपछि सेतो वस्तमा रहेका ३ जना व्यक्तिहरु ‘यो त कुकुर हो बाख्रा होइन’ भन्दै उनलाई झुक्याउन खोज्छन्। तीनैजनाले एकै स्वरमा कुकुर भनेपछि सो ब्राह्रमण बाख्रा छोडर भाग्छ। कौला खिचा अर्थात साहु महाजनको कुकुर ब्राख्रा जस्तै कराउँछ भन्ने पुरानो कथन पनि छ। त्यही कथालाई आधार बनाएर हरेक वर्ष कात्तिक नाचको तेस्रो दिन यो नाटक मञ्चन हुने गर्छ।
लोक कथा र पञ्चतन्त्रमा आधारित चरित्र प्रधान नाटकहरु मञ्चन हुनु कात्तिक नाचको विशेषता हो। नेपाल संवत् ७६१ मा राजा सिद्धिनरसिंह मल्लले यो नाच सुरु गरेका थिए। सिद्धिनरसिंह मल्लले पाटनमा कृष्ण मन्दिर बनाइसकेपछि आफ्ना गुरुहरु हरिवंश राजोपाध्याय र विष्णुनाथ राजोपाध्यायको सल्लाहमा जनताको कल्याण निम्ति भनेर यो नाच सुरु गरेको स्थानीय बताउँछन्।
त्यसयता हेरक वर्ष कृष्ण मन्दिर छेउमा रहेको कात्तिक डबलीमा सातदिनसम्म कात्तिक नाच प्रदर्शन हुँदै आएको छ।
३८४ वर्ष अघि सुरु भएको यो नाच विभिन्न कालखण्डमा परिवर्तन हुँदै गयो। नाचहरु थपिए जस अनुसार दिनहरु पनि थपिँदै गयो। नेपाल संवत् ७८७ मा राजा सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले कात्तिक नाचलाई दुई सातासम्म चल्ने बनाए। माथि उल्लेखित ले बाथः प्याखँ यही समयमा सिर्जना भएको हो। राजा श्रीनिवास मल्लले स्वयं ललितपुरका बाठा मान्छे भएर यो नाटकमा अभियन गर्ने गरेको कथन छ। समाजमा बाठाहरुले कसरी आफ्नो हैकम कायम राख्छन्, स्वार्थ पूर्तिका लागि मानिसहरु कस्तो हदसम्म पुग्छन् भन्ने भाव सहितको यो नाटकले तत्कालीन समाजलाई देखाउँछ।
कात्तिक नाचको दिन फेरि नेपाल संवत् ८०४ मा थपियो। राजा श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले कात्तिक नाचमा नयाँ कथाहरु थपे। उषाहरण लिला लगायत नाच थपेर उनले कात्तिक महिनाभरि नाच प्रदर्शन चलाए। एक महिना पुरा चल्ने भएपछि यो नाच कात्तिक नाचले प्रसिद्ध भयो। संस्कृतिविद् सत्यमोहन जोशीले ललितपुर र कात्तिक नाचको पृष्ठभूमिमा वि सं २००७ साल अघिसम्म कात्तिक महिनाभर यो नाच प्रदर्शन हुने उल्लेख गरेका छन्।
वास्तवमा कात्तिक नाच नैतिक शिक्षा दिन सुरु गरिएको नाच हो भन्दा पनि फरक पर्दैन। यसमा प्रस्तुत गरिने सुदमाया, वराह अवतार, नरसिंह अवतार, दधिलिला लगायत कथाले समाजलाई नैतिक चेत नै प्रधान गरेको छ। त्यसैले यो नाचलाई केबल मनोरञ्जनमा मात्रै सीमित नराखि यसले दिन खोजेको सन्देशलाई पनि समाजमा बलियो रुपमा स्थापित गर्नुपर्ने बेला भइसेको छ।
हरेक वर्ष कात्तिक शुक्लपक्ष द्वादशी तिथिबाट कात्तिक नाच सुरू हुन्छ। पछिल्लो समय भने यो नाच कात्तिक महिनाको ८ दिनमा सीमित भएको छ। पहिला थपिँदै गएका कथाहरु घट्दै गएका छन्। निश्चित कथाहरु मात्रै प्रस्तुत भएका छन्। कुनै बेला २८० जा कलाकार यो नृत्यमा सहभागी हुन्थे।
पछिल्लो समय करिब १२० जना कलाकार यो ८ दिनभर प्रत्यक्ष रुपमा नाचको विभिन्न क्रियाकलापमा सहभागी भइरहेका छन्।
मल्लकालिन परिवेश बुझाउने यो नृत्य नेपालकै मौलिक संस्कृति हो। युवा पुस्ताको सक्रिय सहभागीका कारणले नै यो नाच सफल भइरहेको छ।
कात्तिक नाच प्रशिक्षण गर्दै आएका उत्तमरत्न शाक्य युवा पुस्ताको सक्रिय सहभागिताले नाच संरक्षण गर्नुपर्छ भन्ने चेतना बढिरहेको बताउँछन्। देवगणको भूमिकामा नाच गर्न हरेक वर्ष धेरैले चाहना राख्छन्। तर, सबैले त्यो मौका पाउँदैनन्। धेरैजना स्वयमसेवक बनेर यो नाचलाई सघाउँछन् र उपयुक्त समयमा नाचको पात्र बनिरहेका छन्। युवाहरु आफै सक्रिय हँदा नै अहिले यो नाच जीवन्त बनिरहेको छ।
कात्तिक नाच संरक्षण समितिसँगै स्थानीय समुदायको प्रयासमा अहिले नाच संचालन भइरहेको छ। नाच बचाउनुपर्छ भन्ने चेत बढे पनि नाच बचाइराख्न भने आर्थिक सहयोगको खाँचो छ। त्यसैले रकम सहयोग गर्न अपिल गरेर पाटनका विभिन्न स्थानमा क्यूआर कोड राखेका छन्।
दरबार क्षेत्रमा राखिएको सो क्यूआर कोडले संस्कृति संरक्षणमा राज्यको नजर नपुगेको देखाउँछ। एउटा नाच गर्न कम्त्तीमा २० जना कलाकार चाहिन्छन्। वस्त, आभुषण, साजसज्जा, बाजा लगायतका खर्च छुट्टै।
हाल करिब दुई दर्जनभन्दा बढी कथा ८ दिनमा प्रस्तुत गर्ने गरिन्छ। तर, पहिला जस्तै महिना दिनसम्म चलाउने गरि रकम आयोजकसँग छैन। आर्थिक सहयोग प्राप्त भएमा पहिलाझै एक महिनासम्म कात्तिक नाच गर्न सकिने स्थानीय आयोजक बताउँछन्। यदि यो नाच पहिला झै एक महिनासम्म चलाउन सकिए त्यसले विश्वभर नेपालको छुट्टै सांस्कित पहिचान स्थापित हुने स्थानीयको विश्वास छ। तर, त्यसका लागि स्थानीयमात्रै खटिएर हुँदैन। अब खाली संस्कृति र परम्परा युवालाई हस्तान्तरण गरेर त्यसको दिगो संरक्षण हुन सक्दैन। त्यसलाई आर्थिक उपार्जनको विधिसम्म जोड्नुपर्छ। जसले गर्दा यस्ता पर्वहरु युगसम्म चल्न सकुन्।
त्यसका लागि स्थानीय सरकारले यो नाच संरक्षण र प्रवर्धनको जिम्मा लिनुपर्छ। नाच बचाउन लागेका कलाकारहरुले स्वस्फर्त रुपमा गरेको कामलाई स्थानीय सरकारले ग्रहण गरेर आर्थिक सहयोग गर्नुपर्छ। यस्तै, प्रदेश र संघीय सरकारले पनि यस्ता मौलिक नृत्यको जगेर्णा र प्रवर्धनका लागि आर्थिक सहयोग गर्नुपर्छ।
कात्तिक नाच नेपालको मौलिक अमूर्त सम्पदा हो। अहिले विशेष गरेर काठमाडौं उपत्यकालाई जीवन्त यिनै अमूर्त सम्पदाले गरिरहेको हो। र, कात्तिक नाचमा स्वस्फूर्त लागेका स्थानीय जस्तै अमूर्त सम्पदा बचाउन लागेकाहरुको कारण नै यी संस्कृति बचिरहेको छ। तर, राज्यबाट यस्ता अमूर्त सम्पदा संरक्षण र प्रवर्धनमा कुनै चासो नहुने लज्जाको विषय हो।
विश्व सम्पदा सूचीमा मूर्त सम्पदा सूचीकृत गरे जस्तै अमूर्त सम्पदामा पनि हाम्रो सम्पदा सूचीकृत गराउनुपर्छ। तर, हालसम्म नेपालले अमूर्त सम्पदा सूचीकृत गराउन कुनै पहल गरेको छैन। युनेस्कोले भारतमा दुर्गा पूजा जस्तै हामीले नेपालमा कात्तिक नाच लगायतका पर्वलाई पनि अमूर्त सम्पदामा सूचीकृत गराउनुपर्छ। यसले विश्वस्तरमा हाम्रो संस्कृतिको प्रचारमात्रै हुँदैन त्यसबाट आर्थिक सहयोग र आर्थिक उपार्जनको विधिसमेत निकाल्न सकिन्छ। यससले स्थानीय जात्रा र पर्वहरु प्रवर्धन र संरक्षणमा टेवा पुग्नेछ। र, देशलाई पनि आर्थिक रुपमा बलियो बनाउन सहयो पुग्ने देखिन्छ।
