लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

कास्की, ९ मङ्सिर । सहकारी ठगी, सङ्गठित अपराध मुद्दामा अनुसन्धान भइरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज अदालत पेस गरिँदै छ ।

पछिल्लो १३ दिनको म्याद शुक्रवार सकिएकोले उनलाई पुनः म्याद थपको लागि अदालत उपस्थित गराउन लागिएको हो ।

काठमाडौँ र चितवनबाट पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकोले म्याद थपेर क्रमशः उनलाई काठमाडौँ र चितवन लाने प्रहरीको तयारी छ ।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी भएका पूर्व प्रहरी नायव महानिरीक्षक (पूर्वडीआइजी) छविलाल जोशीलाई काठमाडौँ लगेर बयान लिइसकिएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका जोशीलाई काठमाडौँमा पनि जाहेरी परेपछि बयानका लागि लगिएकाे हो । यो प्रकरणमा रवि लामिछानेविरुद्ध समेत काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोले अब उनलाई पनि बयानका लागि काठमाडौँ लगिने छ ।

एउटैखाले प्रकरणका अर्का आरोपी कुमार रम्तेललाई बयान लिएर पुनः पोखरा ल्याइएकाे छ ।