उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरू
काठमाडाैं, १३ मङ्सिर । स्थानीय तह उपनिर्वाचनका लागि आज बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार मतदानभन्दा ४८ घन्टा अगाडि मौन अवधि सुरू हुन्छ। यो अवधिमा उम्मेदवारले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका गतिविधि गर्न पाइदैनन् ।
आयोगले जारी गरेको आचारसंहिताअनुसार यो अवधिमा उम्मेदवारका अतिरिक्त राजनीतिक दलहरूलाई सभा, सम्मेलन, गोष्ठी, भेला, अन्तरक्रियालगायत गतिविधि गर्न रोक लगाइएको छ।
मंसिर १६ गते ३७ जिल्लाका ४४ स्थानीय तहका विभिन्न रिक्त पदमा उपनिर्वाचन हुँदैछ।
दुई जिल्ला समन्वय समिति प्रमुख, एक नगरपालिकाको प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्ष, ३४ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो।
४४ रिक्त स्थानमा निर्वाचन भए पनि तीन पद भने निर्विरोध भइसकेको छ। उपनिर्वाचनमा १६२ मतदान स्थल, २९३ केन्द्र तोकिएका छन्। यो उपनिर्वाचनमा २ लाख २६ हजार ७ सय ९९ मतदाता रहेका छन्।