सहायक निरीक्षकले किन प्रहार गरे त आफैँलाई गोली ?
काठमाडाैं, १४ मङ्सिर । अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैँमाथि गोली प्रहार गरेका छन् ।
अछामको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इञ्चार्ज रहेका प्रहरी सहायक निरीक्षक किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली प्रहार गरेको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
चन्दले आफैँले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा प्रहार गरेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।
चन्दले बिहीबार ९ः३० बजेतिर प्रहरी चौकीमै आफैँमाथि गोली प्रहार गरेका थिए । गोली लागेर घाइते भएका चन्दको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारपश्चात् गरिएको र थप उपचार बाँकेको कोहलपुर मेडिकल कलेजमा आइसियुमा राखेर उपचार भइरहेको छ ।
२०७६/७७ को कोराना महामारीका बेला जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत रहँदा उनले आफ्ना कमान्डर प्रहरी निरीक्षक लक्ष्मीराज जोशीलाईसमेत पेस्तोल ताकेका थिए ।
मदिरा सेवन गरेर चन्दले प्रहरी निरीक्षक जोशीलाई गोली ताकेको विषयमा जिल्ला प्रहरी कार्यालयले चन्दलाई कारबाही गर्न खोजेपछि परिवारसहित आएर हारगुहार गरेर माफी मागेर कारबाही रोकेका थिए ।
चन्दले प्रहरी चौकीमै आफैँमाथि किन गोली प्रहार गरे भन्ने विषयमा इलाका प्रहरी कार्यालय कमलबजारका इञ्चार्ज प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय घटनाको छानबिन समिति गठन गरिएको प्रनाउ भण्डारीले बताउनुभयो ।