रामेछाप जीप दुर्घटना अपडेट : मृतक पाँच मध्ये चारको सनाखत, घाइतेहरूकाे उपचार हुँदै
रामेछाप, १४ मङ्सिर । रामेछापमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ ।
रामेछापको गोकुलगंगा गाउँपालिका–६ सिमलडाँडामा शुक्रबार दिउँसो ना १ ज ७१२३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदिप सिंहले जानकारी दिनुभएकाे छ ।
उहाँकाअनुसार दुर्घटनामा मृत्युहुनेहरूमा गोकुलगङ्गा–४ बेतालीका वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेत छन् । जिप चालक मन्थली नगरपालिका–१० का ३५ वर्षीय चालक हिराबहादुर कार्की, गोकुलगङ्गा–५ की ३० वर्षीया कविता कार्की र उनकी सात वर्षीया छोरी स्वस्तिका खड्काको समेत मृत्यु भएको प्रमुख डिएसपी सिंहले जानकारी दिनुभएकाे छ ।
मृतक अन्य एक जनाकाे सनाखत हुन बाँकी रहेकाे छ भने घाइते एक बालकाे पनि परिचय नखुलेकाे प्रमुख डिएसपी सिंहले जानकारी दिनुभएकाे छ ।
दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरूकाे काठमाडाैंस्थित ट्रमा सेन्टर र केएमसी अस्पतालमा उपचार भइरहेकाे छ । उनीहरूको अवस्था मध्यम रहेकाे प्रमुख डिएसपी सिंहले जनाउनुभएकाे छ ।