शिक्षा सुधारका लागि सामुदायिक विद्यालयको समस्या पहिचान गर्दै पौवादुङमा गाउँपालिका

भोजपुर, १९ मङ्सिर । भोजपुरकाे पौवादुङमा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि  जोड दिएको छ । खस्किदो शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले योजनाबद्ध विकासमा जोड दिएको हो

सामुदायिक विद्यालयको समस्या पहिचान तथा शैक्षिक सुधारका लागि स्थानीय सरकारले गर्नुपर्ने कार्यहरुका विषयमा जानकारी लिन सरोकारवाला पक्षसँग आवश्यक सुझाव सङ्कलन थालेको छ । गाउँपालिकाले हालसम्मको शिक्षाको समसामयिक अवस्थाको विषयमा जानकारी गराउँदै शैक्षिक सुधारका लागि आगामी दिनमा सम्बद्ध पक्षले खेल्नुपर्ने भूमिकाका विषयमा योजनाबद्ध रुपमा काम अघि बढाएको छ ।

गाउँपालिकाले खस्किँदो शैक्षिक क्षेत्रको सुधारका लागि यहाँका ३२ वटा विद्यालयका सम्पूर्ण शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा जनप्रनिधिसँग अन्तरक्रिया तथा उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममार्फत समूह निर्माण गरेर शैक्षिक सुधारका लागि गर्नुपर्ने कार्यका बारेमा रणनीति तयार गरिएको हो ।

हालको नतिजालाई थप सुधारका लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा गाउँपालिकाले गर्नुपर्ने कामको विषयमा सहभागीले आफ्नो लिखित सुझाव दिएका छन् । सहभागीहरुले आवश्यक कार्यविधि तयार गरेर गाउँपालिकाले अनुगमनमा जोड दिनुपर्ने साथै स्थानीय सरकारले पुरस्कार र दण्डको नीतिलाई अवलम्बन गरेर कडाइका साथ अघि बढ्नुपर्ने बताएका छन् । विद्यालयहरुको आवश्यकताका आधारमा गाउँपालिकाले कार्यक्रम सञ्चालन गर्नुपर्ने सहभागीको भनाइ छ ।

सामुदायिक विद्यालयहरुबाट राज्यको लगानी अनुसारको प्रतिफल आउन नसकेकाले शैक्षिक सुधारका लागि गर्नुपर्ने कामको विषयमा सरोकारवाला पक्षसँग आवश्यक सुझाव सङ्कलन थालिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । गाउँपालिकाको शिक्षाको क्षेत्रमा रहेका समस्याको पहिचान गरेर त्यसको समाधानमा जुट्दै सामुदायिक विद्यालयको गुणस्तर सुधारमा योजनाबद्ध रुपमा जुटेको उहाँको भनाइ छ ।
।
सामुदायिक विद्यालयको खस्किँदो गुणस्तर सुधारका लागि सबै पक्ष गम्भीर बन्न आवश्यक रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनुभयो । शैक्षिक गुणस्तर सुधारका लागि सबैले आफ्नो क्षमतालाई सही ठाउँमा सदुपयोग गर्न आवश्यक रहेको उहाँको भनाइ छ । प्रविधिमूलक शिक्षणमा विद्यालयहरुले जोड दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

पौवादुङमा एक विद्यार्थी बराबर राज्यका तर्फबाट वार्षिक रुपमा रु ४४ हजार नौ सय ९२ लगानी भइरहेकाले यो लगानीको सदुयोगमा सबैले ध्यान दिनुपर्ने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । गत वर्ष गाउँपालिकाको एसइई उत्तीर्ण प्रतिशत छ दशमलव पाँच रहेको शिक्षा शाखाले जनाएको छ । विद्यार्थीहरुको आन्तरिक मूल्याङ्कनको तथ्याङ्क राम्रो देखिए पनि बाह्य मूल्याङ्कनमा भने कमजोर देखिएको शाखाको भनाइ छ ।

कोशी प्रदेशसभा सदस्य विनोद वान्तावाले राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल आउनेगरी शैक्षिक गतिविधिलाई अघि बढाउन आवश्यक रहेको बताउनुभयो । नेपालको शिक्षा प्रणालीलाई प्रविधिमैत्री र जीवन उपयोगी बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *