विचाराधीन विधेयक चाँडो टुङ्ग्याउन सांसदलाई ‘आन्तरिक ह्विप’
काठमाडौँ, १२ पुस । सङ्घीय संसद्अन्तर्गतका विषयगत समिति पछिल्लो समय विचाराधीन विधेयकलाई आउँदो हिउँदे अधिवेशनको प्रारम्भमै ‘फुल हाउस’ पेस गर्नेगरी केन्द्रित भएका छन् । सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले समितिका बैठकलाई परिणामुखी बनाउन आआफ्ना सांसदलाई निर्देशनसमेत दिएका हुन् ।
सत्तारुढ दल एमालेका मुख्य सचेतक महेश बर्तौला समितिका बैठक नियमित राख्न नसकिएको, बैठकमा ‘कोरम’ नपुगेको यथार्थलाई स्वीकार गर्दै आगामी दिनमा त्यसलाई सुधारेर समितिलाई क्रियाशील बनाउन सत्ता साझेदार दलहरु केन्द्रित रहेको बताउनुहुन्छ । “समितिको बैठक नियमित राख्ने र हरेक बैठकअघि सम्बन्धित समितिका सभापति, प्रमुख सचेतक र सचेतकमार्फत पार्टीका सांसदलाई जानकारी दिन भनेका छौँ”, उहाँले भन्नुभयो, “सत्ता पक्षका सांसद अनुपस्थित भएर समिति बैठकमा कोरम पुगेन भन्ने छुट छैन ।”
पछिल्ला दिन संसदीय समितिका बैठक लगातार बसिरहेका छन् । हाल प्रतिनिधिसभाका विभिन्न समितिमा १५ र राष्ट्रियसभाको विधायन समितिमा चार वटा विधेयक छलफलकै क्रममा छन् ।
मुख्य सचेतक बर्तौलाले समितिका बैठक र कामकारबाहीबारे निगरानी गरिने र प्रत्येक दलले विशेष परिस्थितिबाहेक अन्य काममा जोडिएर विधि निर्माणको काममा उपस्थित हुन नसकेको भन्न नपाइने गरी सबै सांसदलाई निर्देशित गरिएको स्पष्ट पार्नुभयो ।
विधेयक निर्माणमा भएको विलम्बलाई लिएर सांसदको आलोचना हुँदै आएको छ । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले कानुन निर्माणमा ढिलाइ भएपछि समयसीमा तोकेर जान आवश्यक भएको धारणा व्यक्त गर्नुभएको थियो । “संसदीय समितिलाई परिणामुखी बनाउन सत्तारुढ दलका तर्फबाट एक प्रकारको ‘आन्तरिक ह्विप’ नै जारी गरिएको छ”, मुख्य सचेतक बर्तौलाले भन्नुभयो, “संसदीय मामिलामा अनिवार्य उपस्थिति भएर बैठकमा सहभागी हुने, विधेयकमा सक्रियताका साथ भूमिका निर्वाह गर्ने र छिटोभन्दा छिटो विचाराधीन विधेयकलाई प्रतिवेदनसहित सदनमा पेस गर्न निर्देशन दिएका छौँ ।”
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा पाँच, राज्यव्यवस्था तथा सुशासन समितिमा चार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दुई, पूर्वाधार विकास समितिमा दुई, कानुन, न्याय मानवअधिकार समितिमा एक र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा एक वटा विधेयक विचाराधीन छन् ।
“हाल सांसदहरू सिहंदरबारमा बैठकमा मात्रै बसिरहनुभएको छ, सांसदलाई भ्याइनभ्याइ छ, संशोधनकर्ता आफ्नो संशोधनको प्रतिरक्षा गर्न दौडिरहनुभएको छ”, सत्तारुढ दलका मुख्य सचेतक बर्तौलाले भन्नुभयो, “यही पुस २५ गतेभित्रमा १५ मध्ये महत्वपूर्ण पाँच/सात वटा विधेयकहरुलाई संसद्मा पुर्याउँछौँ ।”
विधेयकलाई तीव्रता दिन सत्ता साझेदार दल एमाले र कांग्रेसले मसिनो ढङ्गले छलफल अघि बढाइरहेको जानकारी दिँदै उहाँले दुवै दलका तर्फबाट सांसदलाई समितिमा समय दिई विधि निर्माणमा जुट्न आग्रह गरिएको बताउनुभयो । बर्तौलाले विधेयक निर्माणमा सांसदको भूमिका कस्ता रह्यो, संसदीय काम प्रक्रियामा ध्यानपूर्वक सहभागितालगायत कोणबाट पार्टीले मूल्याङ्कन गरिने बताउनुभयो । “सांसदको कामको मूल्याङ्कन गर्ने विधि संसदीय मामिला र विधेयक निर्माणमा खेलेको भूमिकालाई आधार बनाइने छ”, उहाँले भन्नुभयो ।
प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सदन सरकार गठन गर्ने ठाउँका रूपमा मात्रै नभई जनसरोकारका विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिनुहुन्छ । “संसद्लाई प्रभावकारी तुल्याउन अहिलेको नियन्त्रणकारी अभ्यास हटाउनुपर्छ ”, उहाँले भन्नुभयो । संसदको अभ्यास र गतिशीलतालाई हेररे आफ्नो पार्टीले काम गरिरहेको उहाँको भनाइ छ ।
