माधव नारायण मेला भर्न साँखु जाँदै हुनुहुन्छ? चिन्नुहोस् प्राचीन नगरका प्राचीन ढोकाहरु

काठमाडौं : आजबाट काठमाडौंको उत्तरपूर्वमा रहेको प्राचीन नगरी साँखुमा माधवनारायण मेला सुरु भएको छ। शालिनदीमा मेला भर्न एक महिनासम्म दैनिक हजारौं भक्तजन साँखु पुग्नेछन्। साँखु पुग्ने धेरैका लागि शालिनदी र बज्रयोगिनी परिचित नाम हो। तर, लावण्य देश भनेर समेच चिनिने साँखुमा अहिलेसम्म ठडिएका ढोकाहरुबारे भने कमैलाई मात्रै जानकारी होला।

बग्रयोगिनीका नवौं पुस्ताका पुजारी जोगदेव बज्राचार्यले उग्रतारा बज्रयोगिनीको निर्देशनपछि शंखको आकारमा ‘सँक्व’ को स्थापना गरेको स्थानीयको कथन छ। नेपालभाषामा ‘सँ’ भनेको भोट र ‘क्व’ भनेको (मुनि) हो। ‘सँदेयाक्वय्’ भोटको मुनि रहेको यो स्थान पछि ‘साँखु’ का रुपमा स्थापित भयो। नेपाली भाषाको उदय र नापी नक्साका क्रममा आएकाहरुले ‘साँखु’ लेख्दा प्राचीन नाम लोप भयो। यद्यपि, त्यहाँका ढोकाले नगरको प्राचीनता अहिले पनि झल्काइरहेको छ।

शंखका आकारमा स्थापना भएको मानिने साँखुको स्थापनाकालमा विभिन्न ढोकाहरु बनाइएका थिए। कति लोप भए, कति अहिले पनि ठडिएका छन्। हाल साँखुमा पाँचवटा ढोकाहरु छन्।

सबै ढोकाको आआफ्नो महत्व छ। वास्तवमा साँखुको जिजीविषासँग जोडिएका यी ढोका ‘मूर्त सम्पदा’ नै हुन्। तर, यी ढोकालाई त्यो दृषिकोणबाट संरक्षण र प्रवर्धन भने गर्न सकिएको छैन।

चिनौं पाँच ढोकाहरु

साँखुको प्राचीन वस्तीभित्र बसोवास गर्ने मानिसले बुहारी भित्र्याउँदा प्रयोग हुने ढोका हो भौ ध्वखा:। दुई कलशले लसकुस गरिरहेको आकारमा बनाइएको भौ ध्वखा: बाटमात्रै दुलही भित्र्याउने चलन छ। यस्तै, छोरीहरुलाई अन्माएर पठाउन पनि छुट्टै ढोका छ। त्यो हो सुनटोल म्हयामचा ध्वखा:।

यस्तै, साल्खाटोलमा अवस्थित छ सि ध्वखा:। प्राचीन नगरभित्र कसैको मृत्यु भयो भने यही ढोका हुँदै दीप (चिहान) मा लग्ने परम्परा छ। प्राचीन वस्तीभित्र बसोवास गर्ने कोहीको वस्ती बाहिर मृत्यु भयो भने मृतकको शवलाई साँखु नगरमा प्रवेश गराउन नमिल्ने स्थानीय बताउँछन्। शवलाई नगरको बाहिरैबाट चिहान लग्नुपर्ने उनीहरु बताउँछन्।

अर्को मुख्य ढोका हो धुँल्लाटोलमा रहेको छ महत्वपूर्ण द्य: ध्वखा: – भगवान भित्र्याउने ढोका। हरेक वर्ष बज्रयोगिनी जात्रामा बज्रयोगिनी देवीलाई यही ढोका हुँदै नगर भित्र्याउने गरिन्छ।

आज बाट सुरु भएको स्वस्थानी व्रत चल्दा विष्णु भगवान माधव नारायणका रुपमा शालि नदीमा आएर व्रत बस्ने गरेको पौराणिक मान्यता छ। यो महिना भर माधवनारयणलाई दैनिक रुपमा (परदेश यात्राका दिन बाहेक) साँखु नगर परिक्रमा गराइन्छ। माधव नारायणको मूर्तिलाई नगर प्रवेश गराइ फिर्ता ल्याउन चलाखु टोलमा रहेको माधवनारायण ध्वखा: प्रयोग गरिन्छ।

हालसम्म पनि प्रयोगमा आइरहेका यी ढोकाहरु विभिन्न कालखण्डमा पुन: निर्माण गरिएका छन्। कतिको स्वरुप फेरिए पनि। हाल चलनचल्तीमा रहेका यी पाँच ढोका बाहेक साँखुमा कुनै बेला अन्य धेरै ढोकाहरु पनि रहेको स्थानीय बताउँछन्। लायकु ध्वखा: (राजदरबार ढोका), तलेजु ध्वखा: लगायत थुप्रै ढोकाहरु कुनै बेला साँखुमा थिए। अहिले ती ढोकाहरु लोप भइसके।

 

हुनत: काठमाडौं उपत्यकामै नगरको सीमा रेखांकन हुने गरि बनाइएका धेरै ढोकाहरु हराइसके। साँखुमा पनि त्यसैको प्रभाव परेको हुन सक्छ। बढ्दो शहरीकरण र बसाईसराईको प्रवृत्तिको असर यस्ता सांस्कृतिक पक्षमा परेको हो। यसबारे हाम्रोमा खासै अनुसन्धान भएको पनि छैन।

त्यसैले साँखुलाई चिनाउने यी ढोकालाई मात्र कलात्मक स्तम्भका रुपमा मात्रै चिनाउन हुन्न। यसको संस्कृतिक पक्षबारे पनि मानिसलाई जानकारी दिनुपर्छ। यसलाई मूर्त सम्पदाकै रुपमा नगरले प्रचारप्रसार गर्नुपर्छ। त्यसका लागि माधवनारायण व्रत मेला यी ढोका सँगै साँखुका अन्य पाटाहरु बारे मा बुझाउने अवसर हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *