गृहमन्त्री लेखकले भने, सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि हासिल गर्नु हो

काठमाडाैं, ६ माघ । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनले कञ्चनपुरकाे महेन्द्रनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर बनेको वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने, सुशासन कायम गर्ने, मुलुकमा दिगो शान्ती, विकास र समृद्धिको यात्रालाई अगाडि बढाउने लक्ष्य लिएको बताउनुभयो ।

“मुलुकमा स्थायित्य र दिगो विकासका लागि प्रमुख दुई पार्टी मिलेर सरकार बनेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “सरकारले सोहीअनुरुप समृद्धिको यात्रालाई अगाडि बढाउने गरी योजनाबद्ध रूपमा काम गरिरहेको छ ।” उहाँले मुलुकमा लगानीको वातावरण सिर्जना गर्न र उद्योगधन्दा फस्टाउने गरी सरकारले केही कानुन संशोधन गरेर अध्यादेश ल्याएको बताउनुभयो ।

गृहमन्त्री लेखकले सरकारले चाँडै संसद्को अधिवेशन आह्वान गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । “अधिवेशन बोलाउनेबित्तिकै पहिलो दिन अध्यादेश प्रस्तुत हुन्छन्, पछि प्रतिस्थापन गर्ने कानुन बन्छन्”, उहाँले भन्नुभयो, “यसरी समयसापेक्ष परिवर्तनलाई आत्मसात् गर्दै हामी विकास र समृद्धिको गतिमा अगाडि बढिरहेका छौँ ।”

गृहमन्त्रीले अहिलेको सरकार आगामी निर्वाचनसम्म जानेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो । “दुई पार्टीका बीचमा सात बुँदे सहमति भएका छन् हामी त्यो सहमति कार्यान्वयन गर्छौं, त्यहीअनुसार सरकार अघि बढ्छ”, उहाँले भन्नुभयो, “हाम्राबीचमा कुनै समस्या छैन, बेलाबेलामा विभिन्न खालका हल्ला सुन्ने गरिन्छ, यो सरकार २०८४ सालको निर्वाचनसम्म कायम रहन्छ ।”