पर्वतकाे फलेवासमा काँक्रोको बीउ बिक्री गरेर छ करोड आम्दानी

पर्वत, २२ माघ । पर्वतको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका छन् ।

विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दै आएका यहाँका कृषकले यसवर्ष बीउ उत्पादन गरेर रु छ करोड ३० लाख आम्दानी गरेका हुन् ।

स्थानीय कृषक सूर्यबहादुर कुँवरको नेतृत्वमा विसं २०५७ मा नारायणस्थान बीउ उत्पादन समूह गठन गरेर व्यावसायिक रूपमा बीउ उत्पादनमा लागेका कृषकले यस वर्ष ६३ क्विन्टल काँक्रोको बीउ उत्पादन गरेका छन् ।

प्रतिकिलो रु १० हजारका दरले बिक्री गर्दा उक्त रकम भित्र्याउन सफल भएको कृषक बाबुराम भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष ७० क्विन्टल बीउ उत्पादन भएकामा यस वर्ष ६३ क्विन्टल मात्र भएको हो । गत वर्ष रु सात करोड आम्दानी भएको थियो । उहाँका अनुसार कृषकले भक्तपुरे लोकल जातको काँक्राको बीउ उत्पादन गर्दै आएका छन् ।

समूह गठन भएको सुरुको वर्ष चार किलो काँक्राको बिउ र ६५ किलो ४० दिने मूलाको बीउ उत्पादन भएको कृषक भुसालले जानकारी दिनुभयो । सुरुआतमा रु आठ सयका दरले बिक्री गरेका कृषकले अहिले मूल्य वृद्धि भएर रु १० हजारमा बिक्री गर्दै आएका उहाँले उल्लेख गर्नुभयो ।

केही वर्ष मूला, उन्नत जातको गोलभेँडा, चम्सुरलगायत बीउ उत्पादन हुँदै आएको थियो । काँक्राको बीउबाट मनग्य आम्दानी हुन थालेपछि केही वर्षदेखि यसको मात्र व्यावसायिक उत्पादनमा गर्न थालिएको भुसालले बताउनुभयो । उहाँका अनुसार यहाँका ७२ परिवारले व्यावसायिक रूपमा काँक्रोखेती गर्दै आएका छन् ।

प्रत्येक वर्ष हरेक कृषकले न्यूनतम रु पाँच लाखदेखि रु १८ लाखसम्म बीउ बिक्री गरेर आम्दानी गर्दै आएका अर्का कृषक टुकप्रसाद पौडेलले जानकारी दिनुभयो । यस वर्ष आफूले एक क्विन्टल काँक्राको बीउ बिक्री गरी रु १२ लाख आम्दानी गरेको उहाँको भनाइ छ ।

कृषकले फागुनको पहिलो साता रोपेको काँक्रा जेठ महिनामा तयार भई थन्क्याउने काम गर्छन् भने उत्पादित बीउलाई असारसम्ममा बिक्री गर्दैै आएका छन् । यहाँ उत्पादित अधिकांश बीउ काठमाडौँको कालीमाटी बजारका व्यापारीहरूले खरिद गर्दैै आएका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।