सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक, वार्षिक ४० लाखको कारोबार

म्याग्दी, २५ माघ । म्याग्दीको जलजला गाउँपालिका–१ बाँसखर्क बजारमारेका पूर्व शिक्षक जगतबहादुर खत्रीले सुन्तला खेतीबाट वार्षिक ४० लाख रुपैयाँ आम्दानी गरिरहेका छन् ।

उनले चार दशकअघि सुन्तला खेती थाल्दा परिवार र छिमेकीले अन्न खान नपाइने भन्दै डर देखाएका थिए । खत्री भन्छन्, “सुन्तला मात्रै लगाएपछि अन्न खान पाइँदैन भनेर गाली पनि खाएँ, डर लाग्यो । यो वर्ष मात्रै ४० लाखको सुन्तला बेचिसकेँ । सबै बगैचाको बिक्री गर्दा ४५ लाख पुग्ने अनुमान छ ।”

खत्रीको ३६ रोपनी क्षेत्रफलमा १ हजार ५ सय ९३ बोट सुन्तलाका बिरूवा छन् । यस वर्ष ४ सय ८० बिरूवाले ३४ हजार किलोग्राम सुन्तला उत्पादन दिएका छन् । सबै बोटमा फल लाग्दा वार्षिक एक करोड बढीको सुन्तला बिक्री हुने उनी बताउँछन् । प्रतिकिलो १ सय २० रुपैयाँका दरले बगैंचाबाटै काठमाडौँका व्यापारीले सुन्तला किनेर लगेका छन् ।

उनका हजुरबाले विसं १९९७ सालमा बाँसखर्कमा पाँच वटा सुन्तलाका बिरूवा रोपेका थिए । त्यसपछि बाबु मीनबहादुर खत्रीले विसं २०३३ मा २५ वटा बिरूवा थपे । सुन्तलाले गाउँघरमै बजार पायो र नगद हात पारेर घरव्यवहार चलाउन सजिलो भयो ।

खत्रीले हरेक वर्ष बिरूवा थप्दै गए । पहिला कोदो, मकै र धान खेती गर्ने बारीमा अहिले सुन्तलाका बोट मात्र छन् । पैंतीस वर्ष शिक्षक रहँदा खत्रीले गाउँमै बसेर सुन्तलामा लगानी गरे । अहिले उनका छोरा राजन, बुहारीसहित सबै परिवार सुन्तला खेतीमा तल्लीन छन् ।

बाँसखर्कका धेरै कृषकले सुन्तला खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका छन् । शान्तबहादुर छिन्तेलले २३ लाख र हेमकुमार अर्मजाले ३० लाखको सुन्तला बिक्री गरेको बताएका छन् ।
समुन्द्र सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटर उचाइमा रहेको बाँसखर्कका २ सय ३९ मध्ये २ सय घरपरिवारले सुन्तला खेती गरेका छन् । एक वटा परिवारले वार्षिक कम्तीमा ५ लाखको सुन्तला बेच्छन् ।

बाँसखर्कको १५ सय रोपनी जग्गामा सुन्तला खेती भएको वडा अध्यक्ष जगबहादुर रोकाले बताए । २६ हजार ७ सय ६ वटा बोटमा यस वर्ष १८ करोड ४४ लाख मूल्य बराबरको सुन्तला फलेको उनले जानकारी दिए । बाँसखर्कमा ५१ हजार १ सय ५१ सुन्तलाका बोट छन्, जसमध्ये २४ हजार ४ सय ४५ बोटमा फल लाग्न बाँकी छ ।

देशका अन्य ठाउँको बगैंचा रित्तिएपछि व्यापारीहरूले बाँसखर्कको सुन्तला किनेर लैजान्छन् । बेनीदेखि बगरफाँट हुँदै बाँसखर्क जोड्ने सडक स्तरोन्नति भए थप सुन्तला खेती विस्तार गर्न सकिने कृषकहरू बताउँछन् ।