मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन

मनाङ, २७ माघ । मनाङको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रणमा आउन सकेको छैन। माघ १८ गते बेलुकीदेखि लागेको आगो जटिल भूगोलका कारण नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ। तर, जटिल भौगोलिक संरचनाका कारण आगो निभाउन कठिन भइरहेको छ। स्थानीयवासी पनि जङ्गलमा खटिएका छन्, तर डढेलो नियन्त्रणमा आउन सकेको छैन। डढेलोका कारण भेडा, च्याङ्ग्रा, याक, चौँरीका चरन क्षेत्र नष्ट भएका छन्।

प्रजिअ आचार्यले भन्नुभयो, “आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ। यहाँ हावा चल्ने भएकाले पनि डढेलोको जोखिम बढ्न सक्ने अवस्था छ। राष्ट्रको गहनाका रूपमा रहेका राष्ट्रिय पन्छी डाँफेको बासस्थान र कोपिला लागेको लालीगुँरासको बोट नष्ट भएका छन्।” सुरक्षाकर्मी र स्थानीयले जान सक्ने स्थानसम्म पुगेर आगो निभाउने प्रयास गरिरहेका छन्।

कठिन तथा जोखिम भिरमा आगलागी भएकाले डढेलो नियन्त्रणमा समस्या भएको हो। अन्यत्र आगो नफैलियोस् भनेर सुरक्षित गर्ने काम भने गरिसकेको र बस्तीमा आगलागीको जोखिम नरहेको प्रजिअ आचार्यले बताउनुभयो।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार हिउँ पर्ने स्थानमा हिउँ नपर्नु र सुक्खा भएकाले आगो नियन्त्रणमा लिन नसकिएको हो। उहाँले संरक्षण क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरेको बताउनुभयो। आगलागीका कारण बासस्थान बनाएर बसेका पशुपन्छी अन्यत्र सर्ने गरेका छन्, जसले गर्दा लोपोन्मुख वन्यजन्तु लोप हुनसक्ने खतरा बढेको छ। आगलागीले जङ्गलमा भएका सल्लाको काठ, धुपीजस्ता बहुमूल्य तथा औषधीय जडीबुटीको विनास हुनसक्ने अनुमान गरिएको छ।

जङ्गलमा भएका झिजा, पातपतिङ्गरले गर्दा आगो बढ्न सक्ने जोखिम यथावत रहेको प्रमुख भुजेलले बताउनुभयो। सुक्खायाम र हुरीबतास चल्ने मौसमका कारण आगो नियन्त्रणमा लिन कठिन भएको छ। जङ्गलमा भएका वनआलु, लौडसल्ला, जटामसी, पाँचऔँले, गुची च्याउलगायत जडीबुटी डढेलोले नष्ट हुन थालेका छन्।

आगलागीले चराचुरुङ्गी, वन्यजन्तुको बासस्थानमा प्रभाव पार्नुका साथै याक चौँरीका चरन क्षेत्र नास हुन थालेको कार्यालय प्रमुख भुजेलले बताउनुभयो। यस वर्षको मङ्सिरयता ताल, आइसलेक, पिसाङ भिरमा आगलागी भएको कार्यालयले जनाएको छ।

यसअघि ०७७ मङ्सिरमा लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रणमा आएको थियो। उक्त आगलागीका कारण मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनजङ्गल नष्ट भएको थियो।