‘नो केबलकार समूह’द्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं, २८ माघ । पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

उनीहरूले फागुन ६ गतेदेखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ गर्ने, केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका घेराउ, काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार विरोध सभा गर्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

सरकारसँग यसअघि माघ २२ गते भएको ६ बुँदे सहमति कार्यान्वयनमा सरकार इमान्दार नभएको उनीहरूले बताएका छन्। वार्ताका लागि न्यूनतम वातावरण बनाउन नसकेको र निर्णायक वार्ता समिति पनि बनाउन इच्छुक नदेखिएका उनीहरूले आरोप लगाएका छन्।

माघ २२ गते भएको वार्ताअनुसार माघ २७ गते दुवै पक्षबीच विस्तृत वार्ता गर्ने सहमति भएको थियो। तर सहमति बमोजिम आफूहरू मन्त्री वा उच्चस्तरीय टोलीसँग मात्रै वार्ता गर्ने भन्दै उनीहरू हिँडेपछि छलफल भाँडिएको थियो।

उनीहरूले साँझसम्मको समय दिएर मन्त्री वा उच्चस्तरीय राजनीतिक वार्ता टोली गठन गर्न अल्टिमेटम दिएका थिए। सरकारले उक्त माग बमोजिम वार्ता टोली गठन नगरेपछि थप सङ्घर्षका कार्यक्रम ल्याउनुपरेको उनीहरूको दाबी छ।