ग्यास सिलिन्डर लिक भएर लागेकाे आगलागीले रू सात करोड बढीको क्षति
खोटाङ, ५ फागुन। खोटाङको हलेसी बजारमा ग्यास सिलिन्डर लिक भएर भएको आगलागीमा रु. ७ करोड ३० लाखभन्दा बढीको क्षति भएको छ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदमशेर राईको भान्छा कोठाबाट गए राति सुरु भएको आगोले चारवटा घर, तीनवटा होटल, एउटा हार्डवेयर पसल, लघुवित्तको कार्यालय लगायत जलेर नष्ट भएका छन्।
प्रहरीको प्रारम्भिक प्रतिवेदन अनुसार, पदमशेरको काठ र जस्तापाताले बनेको तीनतले घर, पहिलो तलामा राखिएको हार्डवेयर पसल, दोस्रो तलामा सञ्चालित निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालयलगायत सामग्री जलेर नष्ट हुँदा करिब रु. ४ करोड बराबरको क्षति भएको निमित्त प्रमुख जिल्ला अधिकारी हीराधन राईले जानकारी दिनुभयो।
निमित्त प्रमुख जिल्ला अधिकारी राईका अनुसार स्थानीय आइराख राईको न्यू–कल्याण होटल, चारतले पक्की घर र घरको पछाडिपट्टि दुईतले काठको घर गरी रु. २ करोड ५० लाख बराबरको क्षति भएको छ। साँझ करिब ७ बजेदेखि सुरु भएको आगलागीमा परेर स्थानीय प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटलको फलामको ट्रसले बनेको एकतले भान्छा घर र दुईतले पक्की घरमा आंशिक क्षति हुँदा रु. ३० लाख बराबरको क्षति भएको जनाइएको छ। आइराख राईको घरसँगै जोडिएको भरणशेर राईको पारूहाङ होटल, चारतले पक्की भवनको दोस्रो र तेस्रो तलामा आंशिक क्षति हुँदा अन्दाजी रु. ५० लाख बराबरको क्षति भएको छ।
आगलागीमा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनसम्पत्ति तथा भौतिक सामग्री जलेर नष्ट भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो। “आगलागी नियन्त्रण गर्न बेलैमा सबैको सहयोग उपलब्ध भयो। रातको समयमा भए पनि मानवीय क्षति हुनबाट जोगाउन सफल भयौँ,” उहाँले भन्नुभयो, “आगलागी पीडितका लागि राहत उपलब्ध गराउन विभिन्न निकायसँग समन्वय गरिरहेका छौँ। सङ्कलित राहत एकद्वार प्रणालीमार्फत वितरण गर्ने सर्वपक्षीय निर्णय गरिएको छ।”
आगो नियन्त्रणमा रणभीम गण मुढे ब्यारेक, सशस्त्र प्रहरी बल ७ नं वाहिनी हलेसी गुल्म, नेपाल प्रहरी, जिल्ला प्रशासन, स्थानीय तह, स्थानीयलगायत गरी करिब ५०० जना खटिएका थिए।
हलेसी बजारमा भएको आगलागी सबैको सहयोगले तत्कालै नियन्त्रणमा लिन सफल भएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिनुभयो। “नगरपालिकामा दमकल छैन। दमकल नहुँदा आगलागी नियन्त्रणमा निकै समस्या भयो। तर, उपलब्ध स्रोत र साधन प्रयोग गरेर करिब साढे ४ घण्टापछि आगो नियन्त्रणमा लिन सफल भयौँ,” उहाँले भन्नुभयो, “आगलागीमा ठूलो क्षति भएको छ। क्षति भए जति त आगलागी पीडितलाई राहत उपलब्ध गराउन सक्दैनौँ। यद्यपि, गृहमन्त्री, सम्बन्धित मन्त्रालयलगायतसँग समन्वय भइरहेको छ। आगलागी पीडितका लागि चाँडै मलमपट्टि लगाउने प्रयास गरिरहेका छौँ।”