लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिन्छ : सभामुख घिमिरे

काठमाडौँ, ७ फागुन । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शमा अडिग रहन उत्प्रेरणा दिने बताउनुभएकाे छ ।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले प्रजातन्त्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको निम्ति जीवन बलिदान गर्ने वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ ।

सभामुख घिमिरेले २००७ सालको प्रजातान्त्रिक आन्दोलनले नेपाली जनतालाई निरङ्कुशताबाट मुक्ति दिलाएर स्वतन्त्रताको मार्गमा डोर्‍याएको स्मरण गर्दै शहीदहरूको त्याग र बलिदानले देशमा गणतन्त्र स्थापना भएको र २०६२/६३ को जनआन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्रको युग प्रारम्भ भएको बताउनुभयाे ।

राजनीतिक आन्दोलन र क्रान्तिमा महत्त्वपूर्ण सफलता मिले पनि जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन अझै धेरै काम गर्न बाँकी रहेको उहाँको भनाइ छ।