प्रधानमन्त्रीको राष्ट्रसेवक कर्मचारीलाई आग्रह: सुशासन र समृद्धिको यात्रामा साथ दिनुहाेस
काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसेवक कर्मचारीहरूलाई जनतालाई छिटो र सहज सेवा प्रदान गरी सुशासन र समृद्धिको यात्रामा साथ दिन आग्रह गर्नुभएकाे छ ।
आफ्नो ७४औं जन्मदिनको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई प्राप्त भएको जन्मदिनको शुभकामनाले देशको गरिबी निवारण गर्ने तथा सुशासन र समृद्धि कायम गर्ने कार्यको नेतृत्व गर्न सफल भएमा मात्र सार्थक हुने बताउनुभयाे ।
“सेवा प्रवाहका कुराहरूमा सेवाग्राहीलाई सकारात्मक भावका साथ काम गरेर विकास निर्माण र सुशासन कायम गर्ने कार्यमा मलाई मद्दत गरेर शुभकामनालाई व्यवहारिक रूपमा सार्थक बनाउन म आग्रह गर्दछु,” प्रधानमन्त्री ओलीले भन्नुभयाे, “हामी भ्रष्टाचार गर्दैनौं र गर्न दिन्नौं। तर मुलुक सम्पत्ति शुद्धीकरणका सन्दर्भमा ग्रे लिस्टमा परेको छ, यसलाई हटाउनु छ। मलाई व्यक्तिगत रूपमा लाभ लिनुपर्ने कुरा केही छैन। हामी कमिसनका लागि ठेक्कापट्टाका काम गर्दैनौं, विकास निर्माणका लागि ठेक्का लगाउँछौं। यसमा सबैको साथ होस् भन्ने मेरो चाहना हो।”
कार्यक्रममा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, सचिवहरू र अन्य राष्ट्रसेवक कर्मचारीहरूको उपस्थिति थियो।