माओवादीले कार्यक्रमकै लागि पत्र पठाएर दिए मोरङकाे कानेपोखरीमा दुई विद्यालयले बिदा
काठमाडाैं, १३ फागुन । नेकपा (माओवादी केन्द्र) को हुलाकी राजमार्ग केन्द्रित तराई-मधेश जागरण अभियान अन्तर्गत आज मोरङकाे कानेपोखरीमा आयोजित कार्यक्रमका लागि दुई निजी विद्यालय बन्द भएका छन्।
झापाको केचनकवलबाट सुरु भएको अभियान आज मोरङको कानेपोखरी-६, रमाइलो बजारमा पुगेको हो। बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म जनसभा आयोजना हुने भएपछि ध्वनि प्रदूषणको कारण देखाउँदै पर्ल एकेडेमी र जेनिथ इङ्लिस स्कुलले विद्यालय बन्द गरेका हुन् ।
माओवादीले रमाइलोमा जनसभा आयोजना गर्नुअघि आसपासका चार विद्यालयलाई बन्द गर्न आग्रह गर्दै पत्र पठाएको थियो। बालजगत इङ्लिस बोर्डिङ स्कुल, पल एकेडेमी, माउण्ट हर्मोन एकेडेमी र जेनिथ इङ्लिस बोर्डिङ स्कुललाई पत्र पठाइएकोमा नजिकका दुई विद्यालयले बिदा दिएका हुन्।
पार्टीको गाउँ कमिटी अध्यक्ष दुर्गाबहादुर कार्कीद्वारा हस्ताक्षरित पत्रमा कार्यक्रम अवधिभर सवारीसाधनको चाप र ध्वनि प्रदूषण हुने भएकाले विद्यालय बन्द गरी सहयोग गर्न अनुरोध गरिएको थियो।
आज रमाइलोको सभापछि आमबाडी र कर्सीया बजारमा पनि जनसभा हुने कार्यक्रम छ। प्रचण्डसहितका नेताहरु दादरबेरीयामा बास बस्ने र भोलि विराटनगरमा भेटघाट कार्यक्रम राखिएको छ।