खोटाङमा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलन: फागुन १५ लाई ‘राष्ट्रिय बाँस जागरण दिवस’ घोषणा

खोटाङ, १८ फागुन । खोटाङ जिल्लालाई ‘बाँसको राजधानी’को रूपमा पहिचान दिलाउन बाँसको सङ्ग्रहालय स्थापना गर्ने पहल थालिने भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले यस्तो निर्णय गरेको हो।

तीन दिनसम्म चलेको सम्मेलनले ३५ बुँदे ‘खोटाङ घोषणापत्र’ जारी गरेको छ। घोषणापत्रमा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलोपटक राष्ट्रिय बाँस सम्मेलन सुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’का रूपमा मनाउन पहल गर्ने र प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ।

‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने नारासहित फागुन १५ गते सुरु गरिएको बाँस सम्मेलन, बाँसको अपार सम्भावनालाई स्वीकार गर्दै फागुन १७ गते सम्पन्न भएको हो।
घोषणापत्रमा बाँसलाई छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय स्रोतका रूपमा लिइएको छ। यसले नेपालमा दिगो जीविकोपार्जन, चक्रिय अर्थतन्त्रको प्रवर्द्धन तथा वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान दिन सक्ने विश्वास व्यक्त गरिएको छ।

सम्मेलन अवधिभर बाँससँग सम्बन्धित नीति निर्माण, खेती विस्तार, उद्यम विकास, बजारीकरण लगायतका विषयमा ४४ जना विज्ञ तथा अध्येताबाट प्रस्तुत भएका २३ वटा कार्यपत्रको निचोडको आधारमा घोषणापत्र जारी गरिएको हो।

बजारको मागअनुसार बाँसका विविध प्रजातिको व्यावसायिक खेती प्रवर्द्धन गर्ने, बाँसका बिरुवाको उत्पादन तथा खेती विस्तार गर्ने, नदी किनार, बाँझो जग्गा, सामुदायिक वन तथा गैरकृषिभूमिमा बाँस रोपणलाई प्रवर्द्धन गर्ने बुँदा घोषणापत्रमा समेटिएको कुरा मुख्य आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए। यसैगरी, बाँस खेती सम्बन्धी अध्ययन, अध्यापन, अनुसन्धान तथा ज्ञान आदानप्रदानलाई प्रोत्साहित गर्ने, स्थानीय मौलिक कला, संस्कृति तथा परम्परागत ज्ञानको संरक्षण गर्दै पुस्तान्तरण गर्ने, बाँसमा आधारित उद्योगमा दक्षता र उत्पादन गुणस्तर सुधार गर्न रणनीतिक व्यावसायिक नमूना विकास गर्ने बुँदा पनि घोषणापत्रमा उल्लेख छन्।

दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा औपचारिक उद्घाटन गरिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनमा नजिकै रहेको माटिकोरे खेलमैदानमा बाँसका सामग्रीसहित विभिन्न ५१ वटा प्रदर्शनी कक्ष राखिएको थियो। नगरपालिकाले वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, पर्यटन वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश सरकार र ग्रिन ब्याम्बो क्रियसन ललितपुर लगायतसँगको सहकार्यमा बाँस सम्मेलन गरेको हो।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यमा उद्घाटन भएको बाँस सम्मेलनमा संघीय सांसद, प्रदेशका मन्त्री र सांसद, गभर्नर, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुख, जिल्लाका दशवटै स्थानीय तह तथा जिल्ला बाहिरका स्थानीय तहका प्रमुखको उपस्थिति रहेको थियो। नेपालकै इतिहासमा पहिलोपटक दिक्तेल बजारमा आयोजना गरिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनलाई सरकारी तथा गैरसरकारी निकायका एक सय, वन उपभोक्ता समूहका एक सय, विश्वविद्यालय तथा अनुसन्धान केन्द्रका ५० जना र हजारौं विद्यार्थीले अवलोकन गरेको नगर उपप्रमुख विशन राईले जानकारी दिए।

सम्मेलनको अवसरमा बाँसको उपयोगितालाई व्यवहारमा कार्यान्वयन गर्न र सरकारलाई स्थानीय सामग्री प्रयोग गर्ने नीति व्यवहारमा कार्यान्वयन गर्न÷गराउन खबरदारी गर्ने उद्देश्यले उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सीसमेत उपहार दिने निर्णय गरिएको छ।