नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशनमा सुरक्षाको जिम्मा मदन, ईश्वर र अमृतलाई

काठमाडौं, २१ फागुन । चितवनको चैनपुर एउटा भरपर्दो आश्रयस्थल थियो । यस क्षेत्रमा क्षेत्रीय, अञ्चल र जिल्ला तहका धेरै कार्यक्रमहरु आयोजना भएका थिए । केन्द्रीय स्तरको बैठकचाहिँ २०४६ भदौमा भएको थियो । भूमिगत साथीहरु आएर बस्ने कुराको त हिसाबै थिएन । यस क्षेत्रमा जगन्नाथ थपलिया, रणध्वज कन्दङ्बा, काशीनाथ अधिकारी, देवी ज्ञवाली लगायत धेरै नेताहरु आउने र बस्ने गर्थे । यस क्षेत्रमा भूमिगत महिलामा सुशीला अधिकारी (लता कमरेड) को बसाइ धेरै हुन्थ्यो । त्यस भेगमा बैठक बस्नुपर्दा आनन्द दराई, चिनबहादुर दराई, शम्भु लामिछानेहरुको घर धेरै प्रयोग हुन्थ्यो ।

चौथो महाधिवेशनको मिति र स्थान दुई पटक सरिसकेको थियो । तेस्रो पटकका लागि सिराहाको सर्रेआम्बासमा महाधिवेशनको टुङ्गो गरिएको थियो । उक्त महाधिवेशनको अन्तिम तयारी बैठक २०४६ भदौको सुरूमा चितवनको चैनपुरस्थित नेपाल टोलमा राखियो । यसका लागि समन्वय गर्ने काम मूल रुपमा रणध्वज कन्दङ्बा र काशीनाथ अधिकारीले गरेका थिए । जगन्नाथ थपलिया, लालमणि चौधरी, गोपी नेपालहरु विद्यार्थी आन्दोलनमा थिए ।


(चितवन, नेपालटोलका आश्रयदाताहरुसंग),
चार–पाँच घर थिए नेपालहरुका । सबै नेकपा (माले) समर्थक भएकाले नेपाल टोललाई बैठकस्थलका रुपमा छानियो । भित्र खाना बनाउने, खुवाउने र सरसफाइ लगायतका काममा अप्सरा नेपाल, जानुका नेपाल, सरला नेपाल, सुभद्रा लामिछाने, भगवती नेपाल, राधा नेपालहरु खटेका थिए । त्यस ठाउँमा अन्न र तरकारीको दुःख थिएन तर माछा, मासु खानुप¥यो भने पार्टीको तर्फबाट खास गरी रणध्वज कन्दङ्बा ल्याउँथे । बाहिरी सुरक्षा र व्यवस्थापनमा कृष्ण नेपाल, वसन्त नेपाल, केदार नेपाल, शम्भु लामिछाने, दशरथ नेपाल, नेत्रबहादुर विक, नाथुराम विक, बुद्धिबहादुर विकहरु लागेका थिए । पुरूषहरु बाहिर चार–पाँच जनाको टिम बनाएर रातभरि सुरक्षाका लागि पहरा दिन्थे । त्यस बैठकको व्यवस्थापनमा संलग्न कमरेडहरुको भनाइ यस्तो थियोे ।

बैठक बसेको घर काठको थियो । त्यसैले त्यति धेरै मानिस बस्दा धान्छ कि धान्दैन ? भनेर पहिला आयोजकहरुले परीक्षण गरेका थिए । त्यसपछि बैठकका लागि नेताहरुलाई विभिन्न चोकबाट तोकिएअनुसार साइकलको क्यारियरमा राखेर ल्याइयो । आरकेको ज्यान ठुलो, त्यसैले साइकलको क्यारियरमा बोकेर आउँदा साइकल नै उल्टिएको थियो । नेताहरुलाई ल्याउन फरक फरक ठाउँमा कार्यकर्ताहरु खटाइएका थिए ।

त्यतिखेर कम्युनिस्ट पार्टीमा लाग्नुको अपेक्षा के थियो भन्नेबारे बैठकको पहरेदारका रुपमा खटिएका नाथुराम विकको भनाइ यस्तो थियो । ‘हामीमाथि जातीय र वर्गीय रुपमा धेरै थिचोमिचो थियो । गरीखाने आधार थिएन । जेजस्तो विभेद भए पनि खुला रुपमा बोल्न पाइँदैनथ्यो । छुवाछुत चर्को थियो । गरिबले राम्रो लुगा, जुत्ता लगायो भने पनि चोरीको आरोप खेप्नुपथ्र्यो । ‘आमूल परिवर्तनपछि यस्तो हुँदैन’ भन्ने कुराले हामीलाई सङ्गठित हुन र अप्ठ्याराहरुलाई सामना गर्न आँट दिएको थियो । आज बहुदल हुँदै गणतन्त्रमा पुग्दा बोल्न पाइएको छ । गरीखान काम मिलेको छ । सार्वजनिक ठाउँमा छुवाछुत छैन । बाटो, बिजुली, पानीको सुविधा छ । त्यतिखेर बाहिर बस्नुपर्ने हाम्रै जातिबाट पार्वती विक अहिले पार्टीको जिल्ला कमिटी सदस्यका रुपमा आफ्नै वडाको इन्चार्जसम्म भएकी छन् । तर, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रको विकास गरिबका पक्षमा अझै भएन । त्यसैले नयाँ पुस्ताका युवाहरुमा असाध्यै असन्तुष्टि बढेको छ । हामीले त्यस्तो गरी बनाएको पार्टीप्रति उनीहरुमा आक्रोश बढ्न थालेको छ । पुराना कार्यकर्ताले जोगाएको पार्टी नेताहरुले सत्ता स्वार्थका कारण फुटाउने र आमनागरिकबाट पार्टी नेतृत्व विमुख हुँदै जाने कुराले भने चिन्ता बढेको छ ।

उक्त बैठकको व्यवस्थापनको जिम्मेवारी लिनेमध्ये एक अप्सरा नेपालमा पनि अहिले धेरै सन्तुष्टि देखिन्न । विगतको सम्झना र वर्तमानको भोगाइ विच अप्सराको तुलना यस्तो छ, ‘त्यतिखेर देखाइएका क्रान्तिका सपनाहरुले ‘सबै कुरा छाडेर पनि पार्टीलाई सहयोग गर्नुपर्छ’ भन्ने लाग्थ्यो । पार्टीलाई सहयोग गर्न पाउँदा, नेतालाई घरमा राख्न पाउँदा गर्व लाग्थ्यो । तर, अहिले नेतृत्वले पनि भुलेभैmँ लाग्छ । पार्टीमा अनुशासन पनि देखिँदैन । कार्यकर्ताको मूल्याङ्कन ठिक रुपमा भएभैmँ लाग्दैन । हिजो जनस्तरका समर्थकहरुले जुन अपेक्षा राखेर सहयोग गरेका थिए, पार्टी निर्माणमा लागेका ती मान्छेहरु आज छायामा परेका छन् ।

बाटोछेवैमा पर्ने टोलमा धेरै दिन निरन्तर बैठक बस्ता गोपनीयता खुल्न सक्ने सम्भावना आँकलन गरी नेपाल टोलमा बसेको बैठक चार दिनपछि बाटोभन्दा केही पर दराई टोलको आनन्द दराईको घरमा सारियो । त्यो गाउँ पनि पूरै नेकपा (माले) समर्थक थियो । त्यस गाउँमा सबै युवाहरु लट्ठी घुमाउन जान्ने थिए । केही युवाहरुले ताइकन्दो पनि सिकेका थिए । त्यसैले समस्या आइपरे कसरी लड्ने र नेतृत्वलाई जोगाउने भन्ने योजनासहित युवाहरु सुरक्षा दस्ताका रुपमा खटिएका थिए । सन्तमाया दराई, सीता दराई, गङ्गामाया दराई लगायत खाना बनाउने काममा जुटेका थिए । सुरक्षाका लागि पहरेदारी गर्दाको कुरा सम्झँदै आनन्द दराई भन्छन्– ‘राति निद्रा भगाउन खुर्सानी र चुकको जोहो गरेर बसिन्थ्यो । यसरी बस्नेमा मूल रुपमा आनन्द दराई, सुबोध दराई, सुरेन्द्र दराई लगायत थिए । १०–१२ वर्षदेखि १५–१६ वर्षसम्मका विक्रम, रमेश, बुद्धिराम, मङ्गलराम, तेजबहादुर, तेजकुमार, रामचन्द्र, विषराम, चलिराम, काशीराम लगायतका दराई टोलका २०–२५ जना किशोरहरु बालसेनाका रुपमा सूचना आदानप्रदानदेखि सुरक्षा दस्तासम्मको काममा खटेका थिए ।


(दराईटोलको वैठक वसेको घर र आश्रयदाताहरु)
आमा सुकमाया दराईका लागि सबै भूमिगत नेता सन्तानसरह थिए । बहुदल आएपछि सुकमायालाई पार्टीकी आमाको रुपमा सम्मान गरियो । सन्तमाया दराई त्यस क्षेत्रकै महिलाहरुको नेता र पार्टीको अगुवा कार्यकर्ता भएको हुँदा आफ्नो र बस्तीका सदस्यहरुको अवस्थाबारे सन्तमाया यसरी सम्झन्छिन्–
त्यस बेला बस्तीमा महिलाहरुबिच एकदम राम्रो एकता थियो । कुनै पनि काम गर्न हामी तयार हुन्थ्यौं । त्यतिखेर पार्टीको लेबी मासिक २५ पैसा थियो । हातमा पैसा आउने काम खासै हुँदैनथ्यो । हामीलाई दिनभरि काममा जान वा रातभरि बैठकमा जान र पर्चा, पोस्टर गर्न सहज लाग्थ्यो । तर, पार्टीको लेबी २५ पैसा तिर्न असाध्यै गाह्रो हुन्थ्यो ।

आफू कम्युनिस्ट भएको घटनाबारे आनन्द दराई भन्छन्‘ ‘एक दिन सानो पुस्तक भेटें । पढें, मन प¥यो । अलिअलि साथीहरुसँग हिँड्न थालें । बुबा नेपाली कङ्ग्र्रेस समर्थक हुनुहुन्थ्यो । मैले पढेको पुस्तक देखेपछि ‘धेरै बहकिएर नहिँड्, दुःख पाउलास्’ भन्नुभयो । म भने लुकीछिपी हिँड्दै थिएँ । त्यसैबिच पारिवारिक अवस्थाले कामको खोजीमा २०३६ सालमा भारत गएँ । २०४२ सालमा बिदामा आउँदा त श्रीमती सन्तमाया गाउँका अरु दिदीबहिनीहरुसँगै रातिराति बच्चा बोकेर बैठकमा जाने भइसक्नुभएछ । त्यसपछि मलाई पनि भारत फर्कन मन लागेन । यहीँ काम गर्न थाले । २०३८ सालको निर्वाचनमा बुबा हार्नुभएछ । त्यसपछि बदलाको इख मेटाउनैका लागि पनि ‘निर्वाचन लड्नुपर्छ’ भन्न थाल्नुभयो । २०४४ सालको गाउँ पञ्चायतको निर्वाचनमा वडाध्यक्षको जनपक्षीय उम्मेदवार भएँ, जितें पनि । त्यसपछि जनताको बिचमा कामको चाप बढ्यो । पार्टीलाई सहयोग गर्न पनि राज्यको औपचारिक पदका कारण सहज हुन थाल्यो । परिवर्तनका पक्षमा पार्टीको निर्देशनअनुसार निरन्तर लागियो । त्यही क्रममा हाम्रो घर भूमिगत नेता–कार्यकर्ताको आश्रयस्थल र बैठकस्थल बन्न थाल्यो । चौथो महाधिवेशनको अन्तिम तयारी बैठक पनि केही दिन नेपाल टोलमा बसेपछि लामो समय एकै ठाउँमा बस्ता आश्रयस्थल खुल्न सक्ने ठानी यही घरमा भएको थियो ।
वडाध्यक्ष भएर गाउँमा राम्रो काम गरेकाले सबै आनन्दको पक्षमा लागे । पार्टीका समर्थक बने । गाउँ नै नेकपा (माले) को पकड क्षेत्र बन्यो । २०४६ सालको आन्दोलनको क्रममा आनन्दको नेतृत्वमा ५०–६० जना युवाहरुको टोली बनेको थियो । वारेन्ट भएको थाहा पाएपछि पार्टी नेताले आनन्दलाई गाउँ छाडेर भारत जान सल्लाह दिए । तर उनीे मानेनन् । गाउँमै भूमिगत भएर काम गर्न थाले । प्रहरी छापा मार्न आउने थाहा भयो । महिला र बालबालिका मात्र छाडेर सबै पुरूषले गाउँ छाडे । महिलाहरुले आफू, परिवार र गाउँकै सुरक्षा गरे । जसरी अरु गाउँमा राज्यसत्ताको दमनको अन्तिम अवस्थामा अप्ठ्यारोको सामना गर्दा सधैं पुरूषहरु गाउँ छाड्छन् र महिलाहरु एक्लैले सबै समाल्छन् । त्यहाँ पनि त्यस्तै भयो । आफूहरु गाउँ छाडेर भूमिगत भएपछिको घटना सुनाउँदै हालसम्म आफ्नो संलग्नताबारे आनन्द दराई भन्छन्– ‘एक दिन राति पार्टी काममा चौधरी गाउँ जाँदै गर्दा खेतमा लगाएको पानी चोर्न आएको मान्छे भनेर गाउँलेले झन्डै लखेटेका थिए । बल्लतल्ल कुरा मिलाएर उम्कन सफल भइयो । आन्दोलनको समयमा अर्काे गाउँ जान लाग्दा प्रहरीसँग जम्काभेट भयो । अर्को गाउँमा केटी हेर्न जान लागेको बहाना बनाएर बल्लतल्ल उम्किइयो । यस्ता हन्डर र अप्ठ्यारा पार गर्दै पञ्चायतको अन्त्य गरियो । बहुदल आएपछिको पहिलो स्थानीय निकायको निर्वाचन २०४९ सालमा वडाध्यक्ष र २०५४ सालमा गाविस अध्यक्षको रुपमा काम गरियो । २०६२–६३ को आन्दोलनमा जिल्ला प्रशासन घेर्न साइकल लिएर जाँदै थिएँ । साइकल बङ्करले किच्यो । सुरक्षा निकायले गोली चलायो । धन्न रबरको गोली रहेछ र बाँचियो । २०७४ को निर्वाचनपछि नगरपालिका कार्यपालिका सदस्य भएर एक कार्यकाल काम गरें । अहिले पार्टी जिल्ला कमिटीको सल्लाहकार छु ।’

सबै पुरूषहरु गाउँ छाडेर निस्किए । गाउँमा प्रहरी खानतलासी लिन आउन थाल्यो । ‘त्यस्तो अवस्थामा घरभित्र बस्ता प्रहरीले दुव्र्यवहार गर्न सक्छ’ भनेर सबै महिलाहरु ढोका खुला राखिदिएर बाहिर जम्मा हुन्थे । प्रहरीहरु चोटाकोठा सबै हेर्थे । कोही नभेटेपछि अपशब्द प्रयोग गरेर धम्क्याउँदै र तर्साउँदै हिँड्थे । महिलाहरु एकगठ भएर आफ्नो सुरक्षा गर्थे र अर्को दिन जुलुसमा पनि जान्थे । बस्तुभाउ, बालबच्चा र वृद्धवृृद्धाको हेरचाह पनि गर्थे ।

अप्ठ्यारो अवस्थामा यसरी आन्दोलन, घर र परिवार सबै धान्न सक्ने महिलाहरुलाई स्थिति साम्य हुँदै जाँदा जब पद, सेवा र सुविधाको कुरा आउँछ, अनि पार्टी, समाज र घरपरिवारसमेतले अयोग्य र अक्षम ठान्न थाल्छ । २०१७ सालमा पञ्चायतको सुरूआतदेखि २०४६ सालको जनआन्दोलनसम्म पार्टी निर्माणमा हरतरहले योग्य र सक्षम महिला, आन्दोलनको सफलतापछि राज्यसत्ता र पार्टीसत्ताका विभिन्न पद, सेवा र सुविधाको अवसर आउँदा क्रमशः अयोग्य र अक्षम ठानिए ।

सर्रेआम्बासमा नेकपा (माले) को चौथो महाधिवेशन
२०४६ भदौ ९–१४ गते नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन भूमिगत रुपमा सिराहाको सर्रेआम्बासमा आयोजना गरिएको थियो । महाधिवेशन सुरक्षा लगायतका कारण २–३ पटक स्थगन भइसकेकाले अब सफलतापूर्वक सम्पन्न गर्ने गरी स्थानको सुरक्षा, आउने–जाने प्रतिनिधिको बाटो, खाद्यव्यवस्था, घरको प्रबन्ध लगायत आवश्यक प्रबन्धको सम्पूर्ण जिम्मेवारी पार्टीले मदन भण्डारी, ईश्वर पोखरेल र अमृत बोहरालाई दियो । सत्यनारायण मण्डल लगायत स्थानीय अगुवा साथीहरुको सहयोगमा यी सबै काम सम्पन्न भए । उक्त सम्मेलन बलबहादुर सुनुवारको घरमा भएको थियो, जुन त्यही महाधिवेशनको प्रयोजनलाई ध्यानमा राखेर निर्माण गरिएको थियो । पूर्व–पश्चिम राजमार्गको लाहानबाट झन्डै पाँच किलोमिटर टाढा खोलापारि रहेको सर्रेआम्बासमा भएको महाधिवेशनले पञ्चायती व्यवस्थाको अन्त्यका लागि पञ्चायतइतर राजनीतिक शक्तिहरुबिच संयुक्त आन्दोलन गर्नुपर्ने नीति पारित गरेको थियो ।

(सर्रे अम्वाकस्थित चौथो महाधिवेशनका लागि बनाइएको घर)
हुन त सो कुरा पुष्पलालको नेतृत्वमा २०१७ देखि नै उठान हुँदै आएको थियो । तर त्यतिखेरसम्म कहिल्यै पूरा भएन । उक्त महाधिवेशनले १७ जना पूर्ण र चार जना वैकल्पिक सदस्यसहित मदन भण्डारीलाई महासचिवको रुपमा निर्वाचित गरेको थियो । नेकपाकालदेखि नै माओ त्से तुङ विचारलाई पार्टीको मार्गदर्शक सिद्धान्त मानिएको थियो । उक्त महाधिवेशनमा माओ त्से तुङ विचारलाई मार्गदर्शक सिद्धान्त मानिरहने कि हटाउने (?) भन्ने विषयमा गम्भीर बहस भयो । अन्तमा माओ विचारधारा चीनको बस्तुगत स्थितिमा विकास भएको र नेपालको सन्दर्भमा यो मार्गर्दशक सिद्धान्त हुन नसक्ने तर हाम्रो क्रान्तिकारी आन्दोलनमा प्रेरणाको स्रोत बन्ने निर्णय ग¥यो । यस विषयमा भएको लामो बहसमा अमृत बोहरा लगायत झन्डै दुई दर्जन प्रतिनिधि मार्गदर्शक सिद्धान्त तत्काल हटाउनु हुँदैन भन्ने पक्षमा थिए (शाक्य, २०७१) । तर, अन्तमा बहुमतले अस्वीकार गरेपछि माओ विचारधारा मार्गदर्शक सिद्धान्तबाट हटाइयो । जनवादी क्रान्तिमा वहुदलीय प्रतिस्पर्धाको नीति लामो रस्साकसीपछि यही महाधिवेशनवाट भएको थियो । हाम्रो आफ्नो वस्तुगत आधारमा विचार निर्माण र पुष्पलालले धेरै अगाडीदेखि भन्ने गरेको निरंकुताको विरुद्ध इतर पक्ष विच संयुक्त आन्दोलनको रणनीति तय गर्ने आधारको रुपमा यो महाधिवेशन नै कोशे ढुंगाको रुपमा स्थापित भयो ।
महाधिवेशनमा देशभरिबाट ८४ जना प्रतिनिधिको सहभागिता रहेको सो महाधिवेशनमा तीन जना महिला थिए ।

अमृत बोहरा उक्त महाधिवेशन यसरी सम्झन्छन्— ‘वातावरण अन्यन्त क्रान्तिकारी र उत्साहजनक थियो । सम्मेलन हलको अगाडि पार्टीको झन्डा र नेकपा (माले) को प्रथम सम्मेलन लेखिएको मूल ब्यानर टाँगिएको थियो । त्यस बेलाको प्रचलनअनुसार वरिपरि पाँच जना अन्तर्राष्ट्रिय कम्युनिस्ट नेताहरुको फोटो र क्रान्तिकारी नाराहरु टाँगिएका थिए । त्यतिखेरको त्यो क्षण मुक्त र आधारक्षेत्रजस्तो अनुभूति हुन्थ्यो । कसैमा डर, त्रास थिएन । स्थानीय जनसमुदायमाथि पूरै विश्वास र भरोसा थियो ।

सम्मेलन अन्तर्राष्ट्रिय गीतको जोसिलो गुन्जनबाट सुरू हुुँदा प्रतिनिधिहरुको गडगडाहट ताली थियो । फुट, धक्का र दमनको प्रक्रियाबाट गुज्रिएको कम्युनिस्ट आन्दोलन फेरि पुनर्निर्माणको क्रममा जुटेको घटनाले सहभागी सबैमा अत्यन्त ठुलो खुसी र उत्साह सञ्चार भएको देखिन्थ्यो । पार्टीको सम्मेलन सफल पार्न स्थानीय क्रान्तिकारी जनता र कार्यकर्ता पार्टीको सुरक्षा टोलीले अहोरात्र खटेको थियो । हामीले खुला लोकतान्त्रिक वातावरणको भरपूर उपयोग गरिरहेको वर्तमान परिप्रेक्ष्यमा यो परिस्थितिको शुभारम्भ गर्ने त्यो दिन र क्षणलाई सम्झनामा राख्तै विगत नै वर्तमानको जग हो भन्ने कुरा सदा ख्याल गर्न सक्नुपर्छ भन्ने लाग्छ ।

विन्दा पाण्डेद्वारा लिखित नयाँ पुस्तक ‘भुइँमान्छे’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *