म्याग्दीको थामडाँडामा श्रमदानबाट सिँचाइ योजना मर्मत, ३५ घरधुरी लाभान्वित
म्याग्दी,२१ फागुन । म्याग्दीको बेनी नगरपालिका–४, थामडाँडाका स्थानीय बासिन्दाले श्रमदान गरेर आफ्नो गाउँको सिँचाइ योजना मर्मत गरेका छन्।
बालमखोला सिँचाइ आयोजना अन्तर्गतको पाइपलाइनमा समस्या आएपछि स्थानीय उपभोक्ताहरूले मिलेर मर्मत गरेका हुन्।
चार वर्षअघि निर्माण भएको यो आयोजनाको पाइपलाइनमा समस्या देखिएपछि थामडाँडा र बदमखोरीया क्षेत्रका ३५ घरधुरीले आठ दिनसम्म लगातार श्रमदान गरे। गाउँ नजिकै रहेको रिजर्भ ट्याङ्कीदेखि करिब पाँच सय मिटरको दूरीमा नयाँ पाइपलाइन विस्तार गरिएको बालमखोला सिँचाइ आयोजना उपभोक्ता मूल समितिका सचिव धनकाजी सुनारले जानकारी दिए।
सुनारका अनुसार, प्रत्येक घरबाट एक जना सहभागी भएर श्रमदान गरिएको थियो। पहिले दुई इन्चको पाइप प्रयोग गरिएकोमा समस्या आएपछि नयाँ मार्गबाट डेढ इन्चको पाइपलाइन जडान गरिएको छ।
श्रमदानबाट पाइपलाइन मर्मत भएपछि ३५ घरधुरीको १९० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ।