बाल यौन शोषण तथा दुर्व्यवहार रोकथाम दिवस आज, एएमआर सचेतना सप्ताह पनि सुरु
काठमाडौं, २ मङ्सिर । बालबालिकामाथि हुने यौन शोषण, दुर्व्यवहार तथा हिंसा रोकथामसम्बन्धी विश्व दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर १८ मा यो दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२२ नोभेम्बर ७ मा प्रस्ताव पारित गर्दै नोभेम्बर १८ लाई बालबालिकामाथि हुने यौन शोषण, दुर्व्यवहार तथा हिंसा रोकथाम र प्रभावितको उपचार तथा पुनःस्थापनासम्बन्धी विश्व दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।
बालबालिकामाथिको यौन शोषण र दुर्व्यवहार मानव अधिकार उल्लङ्घन हुनुका साथै सार्वजनिक स्वास्थ्यको गम्भीर समस्या हो । यस्ता घटनाले बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य र विकासमा दीर्घकालीन असर पार्न सक्छ ।
दिवसले बालबालिकामाथि हुने यौन शोषण तथा हिंसा रोकथाम, पीडितलाई न्याय र उपचारमा पहुँच सुनिश्चित गर्न तथा दोषीलाई जवाफदेही बनाउन जोड दिँदै आएको छ । अनलाइन तथा प्रत्यक्ष दुवै माध्यमबाट हुने यौन शोषण र दुर्व्यवहार अन्त्य गर्न जनचेतना अभिवृद्धि गर्नुका साथै पीडितमाथि हुने सामाजिक लाञ्छना हटाउन पनि संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको छ ।
यसैबीच, आजदेखि नोभेम्बर २४ सम्म विश्व रोगाणुरोधी प्रतिरोध सचेतना सप्ताह पनि मनाइँदैछ । ‘एक स्वास्थ्य, एक कार्य : एएमआर अहिले नै रोकौँ’ भन्ने नारासहित सुरु भएको अभियानले मानिस, पशुपक्षी, वनस्पति र वातावरणको स्वास्थ्य एकअर्कासँग जोडिएकाले रोगाणुरोधी प्रतिरोध नियन्त्रणमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको सन्देश दिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार ब्याक्टेरिया, भाइरस, ढुसी तथा परजीवीमा परिवर्तन आएर तिनलाई नियन्त्रण गर्न प्रयोग गरिने औषधि प्रभावहीन हुने अवस्थालाई रोगाणुरोधी प्रतिरोध (एएमआर) भनिन्छ । यसको जोखिम बढ्दै जाँदा एन्टिबायोटिकलगायत औषधिले काम गर्न छाड्ने र सङ्क्रमणको उपचार कठिन वा असम्भव हुन सक्छ ।
एन्टिबायोटिक तथा अन्य रोगाणुरोधी औषधिप्रतिको बढ्दो प्रतिरोध नियन्त्रण गर्न विश्व स्वास्थ्य सङ्गठनको ६८औँ विश्व स्वास्थ्य सभाले सन् २०१५ मेमा विश्वव्यापी कार्ययोजना अनुमोदन गरेको थियो । उक्त योजनाले सञ्चार, शिक्षा र तालिममार्फत एएमआरबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
