फिरन्ते जीवनबाट उद्यमी बन्दै वनकरिया समुदाय
मकवानपुर, २५ फागुन । मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्ने अति लोपोन्मुख वनकरिया समुदायको जीवनशैलीमा उल्लेखनीय परिवर्तन आएको छ। फिरन्ते जीवन बिताउँदा वनकेराको पातको छाप्रोमा सुत्केरी हुँदाको कष्ट सम्झँदै ६५ वर्षीया मुखिया सन्तमाया वनकरियाले भन्नुभयो, “त्यो समयमा कन्दमूल उसिनेर खानुको विकल्प थिएन।”
२०६२ सालमा तत्कालीन जिल्ला विकास समितिले सामुदायिक वनको छेउमा २० वर्षका लागि जग्गा दिएपछि यो समुदायले स्थायी बसोबास सुरु गरेको हो। २२ वर्षसम्म वनमा फिरन्ते जीवन बिताउनुभएकी सन्तमायाले चेपाङको छोरी भएर विवाह अघि बस्तीमा बसे पनि वनकरियासँग विवाह गरेपछि जङ्गलमै जीवन बिताउनु परेको बताउनुभयो। उहाँले चार सन्तान वनमा र पाँच सन्तान बस्तीमा जन्माउनुभयो। “घना जङ्गलमा बासस्थानको ठेगान नहुँदा र मान्छे मरेपछि खोल्सो कटेर बस्ने चलनले गर्दा हामी फिरन्ते भयौं,” उहाँले विगत सम्झँदै भन्नुभयो।
वर्षमा तीन महिना गिठ्ठा, भ्याकुर, च्याउ, खनायो, कुरिलो खाएर जीवन धान्ने यो समुदायका पुरुष माछा मार्ने र महिला कुचो बाँध्ने काम गर्दथे। “माछा र कुचो बेचेर पनि खान पुग्दैनथ्यो, बालबच्चा धेरै हुन्थे,” सन्तमायाले भन्नुभयो। उहाँहरू केराको पातको छाप्रोमा बस्थे र जङ्गलकै झारपात औषधिका रूपमा प्रयोग गर्थे।
विवाहोत्सव वा चाडपर्वमा पनि गिठ्ठा नै मुख्य खाना हुन्थ्यो। वनकरिया समुदायमा विवाह, जन्म, नामकरण, र मृत्युबाहेक अन्य संस्कार गरिँदैन। मृत्युपछि बस्ने स्थान सरेर घरमा धेरै जहान हुनेले १३ दिन र थोरै हुनेले सात दिनमा काजकिरिया गर्ने चलन छ। बच्चा जन्माउँदा पनि सात दिनमा तितेपातीको पानी र सुनपानी छर्केर चोख्याइन्छ।
सानै उमेरमा विवाह गरेकी सन्तमायालाई सुरुमा बाहिरी मान्छेसँग भन्दा जनावरसँग डर लाग्थ्यो। महिनावारी र सुत्केरी अवस्थामा निकै गाह्रो हुन्थ्यो। गाईभैँसी पालेर दूध, दही हुँदा पनि छोराछोरीले खान नपाएको सम्झँदै उहाँ भावुक हुनुहुन्छ।
दुई दशक जङ्गलमा बिताए पनि हाल घरमा बस्न पाउँदा सन्तमाया खुसी हुनुहुन्छ। अझै पनि कहिलेकाहीँ वनको याद आउँछ। वनमा कन्दमूल र कहिलेकाहीँ साँटेको पिठो तथा चामलका भरमा दिन काट्दा खेती गर्ने र गाईवस्तु पाल्नेबारे थाहा थिएन। तर, अहिले उहाँ गाउँमा जन्मेर वनकरियासँग विवाह गरेपछि २० वर्ष जङ्गलमै बिताएको र अहिले फेरि गाउँमै बसेर समुदायको अगुवाइ गरिरहनुभएको छ।
सन्तमाया अहिले खेती गर्ने, भैँसी पाल्ने मात्र होइन, साबुन उत्पादनमा पनि संलग्न हुनुहुन्छ। मसिने शान्ति सामुदायिक वन मध्यवर्ती क्षेत्रमा कुचो काट्न जाँदा सेनाले समातेर लगेपछि उहाँहरूले गाउँमै पाइने तितेपाती, घिउकुमारी, निमजस्ता जडीबुटीबाट साबुन उत्पादन गर्न थालेका हुन्। सन्तमायासँगै बस्तीका महिलाले पनि खोला किनार र वनमा खेर गइरहेको तितेपाती र निमबाट साबुन बनाएर बेचिरहेका छन्। वनकरिया साबुन उद्योग सञ्चालनमा ल्याएर उहाँहरू उद्यमी बन्नुभएको छ।
२०६२ सालमा जिल्ला विकास समिति मकवानपुर र मनहरी गाविसको सहयोगमा वनको घुमन्ते जीवनबाट बस्तीमा बस्न आएका वनकरिया अहिले आत्मनिर्भर हुनका लागि सन्तानलाई विद्यालय पठाउनेदेखि सकेको काम गरिरहेका छन्। “जङ्गल जीवनमा जुन दुःख काटियो, त्यो आफ्ना छोराछोरीलाई नपरोस् भनेर म प्रयत्नरत छु,” सन्तमायाले भन्नुभयो।
वनकरिया समुदायले सञ्चालन गरिरहेको उद्यममा स्थानीय सरकार र ग्रिन फाउन्डेसन नेपालले सहयोग गरिरहेका छन्। साबुन बनाउन धेरै मेहेनत परे पनि कच्चा पदार्थ गाउँ वरपर नै पाइन्छ। यहाँ उत्पादन गरिएको साबुन घाउखटिरा, चिलाउने समस्या र छालाको रोगका लागि राम्रो हुने उहाँको भनाइ छ।
जङ्गली कन्दमूलको भरमा वर्षको आधा समय बिताउने वनकरिया समुदायमा पछिल्ला वर्षहरूमा क्रमशः परिवर्तन देखिएको छ। आधुनिक जीवनोपयोगी सीपसँग टाढा रहेका वनकरिया समुदायका पाँच किशोरी र एक किशोरले एसएलसी/एसइई परीक्षा उत्तीर्ण गरेका छन्। दुई किशोरी प्राविधिक क्षेत्रमा लागेका छन्। वनकरिया समुदायबाट पहिलोपटक एसइई परीक्षा उत्तीर्ण गरेकी पम्फा वनकरिया हाल मनहरीको रजैयामा ल्याब असिस्टेन्टको रूपमा कार्यरत छिन्।
सरकारले वनकरिया समुदायलाई जनही मासिक रु चार हजार सामाजिक सुरक्षा भत्ता दिन थालेपछि उनीहरूको आर्थिक अवस्थामा सुधार आएको छ। मुसेधापमा बसोबास गर्दै आएका वनकरियाले सामूहिक लालपुर्जाको माग गरेका छन्। हाल मुसेधापमा २५ परिवारका ९३ जना वनकरिया बसोबास गर्दै आएका छन्।
नेपालका लोपोन्मुख १० जातिमध्ये वनकरिया एक हो। करिब दुई दशक अघिसम्म वनजङ्गलमा फिरन्ते भएर जीवन गुजार्ने यो जातिका नागरिक अहिले मकवानपुरको मनहरि गाउँपालिका–४ वनकरिया बस्तीमा बस्छन् र परिवर्तनको बाटोमा लम्किरहेका छन्।