लहानमा दुई अर्बको लागतमा सुविधासम्पन्न अस्पताल बन्ने

सिरहा, फागुन २८ । लहान नगरपालिका–४ मा पाँच सय शय्याको मुटु र मधुमेह रोगको सुविधासम्पन्न अस्पताल निर्माण हुने भएको छ।

नेपाल हृदय रोग निवारण सङ्घले जर्मनीको ‘नेपाल मेड जर्मनी’ र ‘रोटरी क्लब कटुस’ नामक दुई अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको रु दुई अर्ब आर्थिक सहयोगमा अस्पताल निर्माण गर्न लागेको हो।

अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. सञ्जयप्रसाद साहका अनुसार लहान नगरपालिकाले उपलब्ध गराएको ११ बिघा जग्गामा अस्पताल निर्माण हुनेछ र यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ। “आगामी पाँच वर्षभित्र अस्पताल निर्माण गरिसक्ने लक्ष्य छ,” उहाँले बताउनुभयो।

नगरपालिकाले उपलब्ध गराएको सार्वजनिक जग्गामा तत्काललाई दुईवटा भवन निर्माण गरी गत माघ ४ गतेबाट ओपिडी सेवा सञ्चालन गरिसकिएको छ, जसको सोमबार औपचारिक उद्घाटन गरिएको छ। लहान नगरप्रमुख महेशप्रसाद चौधरी र विश्वप्रसिद्ध मुटु शल्यचिकित्सक डा. कुमुद धितालले संयुक्त रूपमा उक्त नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो।

उद्घाटन समारोहमा नगरप्रमुख चौधरीले लहानमा ‘कार्डियो र डाइवेटिक सेन्टर’ सञ्चालनमा आउनु लहानका लागि एउटा गौरवको आयोजना भएको बताउनुभयो। अस्पताल बनिसकेपछि उपचारका लागि धरान, विराटनगर र काठमाडौँ जानुपर्ने बाध्यताबाट मुक्ति मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *