गोरु पाल्ने किसानलाई पालिकाले दियाे अनुदान
गुल्मी, १ चैत । चन्द्रकोट गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ। गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार पालिकाभित्र हल गोरु पाल्ने किसानलाई प्रति किसान रु. तीन हजारका दरले अनुदान दिने जनाएको छ।
अनुदान दिनका लागि पालिकाले दुई सय ५८ किसान छनोट गरेका छन्। जसअनुसार वडा नं. १ मा २४, वडा नं. २ मा ३४, वडा नं. ३ मा नौ, वडा नं. ४ मा ३९ तथा वडा नं. ५ मा ६९ जना छन्।
त्यसैगरी वडा नं. ६ मा ३१, वडा नं. ७ मा १४ र वडा नं. ८ मा ३८ जना किसान छनोट भएको गाउँपालिकाका सूचना अधिकारी शिव ज्ञवालीले जानकारी दिनुभयो।
अनुदानका लागि पालिकाले आवेदन खुलाएको थियो। जसमध्ये पालिकाले अनुगमन गरेपश्चात् कम्तीमा दुई वटा अर्थात् एक हल गोरु पाल्ने किसानलाई छनोट गरेको ज्ञवालीले जानकारी दिनुभयो। अनुदानको रकम सम्बन्धित वडाबाट वितरण गरिनेछ।
गाउँपालिका अध्यक्ष युवराज केसीले विविधतायुक्त कृषि प्रणालीलाई सहयोग गर्न अनुदान दिन थालिएको बताउनुभयो। “समथर र ठूला खालका जग्गामा यन्त्र उपकरण दिइएको छ,” उहाँले भन्नुभयो, “भिराला जग्गामा गोरुकै काम हुने भएकाले अनुदान दिन थालेका हौँ।”
