म्यानमारमा बौद्ध पर्यटन प्रवर्द्धन, लुम्बिनी भ्रमणका लागि आग्रह

काठमाडौँ, १० चैत । बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको म्यानमारबाट धेरैभन्दा धेरै बौद्ध पर्यटकलाई नेपालमा आकर्षित गर्ने उद्देश्यले याङ्गुनमा बौद्ध पर्यटन प्रवर्द्धन गरिएको छ। नेपाल पर्यटन बोर्डले याङ्गुनमा ‘नेपाल–म्यानमार व्यापार तथा पर्यटन एक्स्पो–२०२५’ आयोजना गरी पर्यटन प्रवर्द्धन थालेको हो।

नेपाल र म्यानमारबीचको ६५औँ कूटनीतिक सम्बन्धको अवसरमा बोर्ड र म्यानमारस्थित नेपाली दूतावासको सहकार्यमा चैत ८ र ९ गते एक्स्पो आयोजना गरिएको थियो। एक्स्पोमा बौद्ध पर्यटन प्रवर्द्धनका साथै नेपाली पर्यटन उत्पादन, सूचना प्रविधि समाधान तथा अन्य वस्तुहरू प्रदर्शन गरिएको थियो।
एक्स्पोमा नेपालबाट १६ र म्यानमारका ३० वटा पर्यटन कम्पनीहरूको सहभागिता थियो। नेपालको तर्फबाट बौद्ध पर्यटन प्रवर्द्धनमा विशेष जोड दिँदै म्यानमारका पर्यटकलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडानमार्फत लुम्बिनी भ्रमण गर्न आग्रह गरिएको थियो।

म्यानमारलाई बैंकिङ तथा वित्तीय प्रविधि क्षेत्रको विकासका लागि सहयोगी बनाउन नेपाली सूचना प्रविधि क्षेत्रलाई प्रस्तुत गरिएको थियो। कार्यक्रमको उद्घाटन म्यानमारका सङ्घीय मन्त्री यु टुन ओन, म्यानमारका लागि नेपालका राजदूत हरिशचन्द्र घिमिरे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष शिव अग्रवाल र म्यानमार चेम्बर अफ कमर्सका अध्यक्ष यु ए विनले गरेका थिए।

म्यानमारका सङ्घीयमन्त्री यु टुन ओनले नेपाल र म्यानमारबीचको व्यापारिक सम्बन्धलाई मजबुत बनाउँदै पर्यटन प्रवर्द्धनमा सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा याङ्गुन क्षेत्रका मुख्यमन्त्री यु सो थिन, सरकारी अधिकारी, दुवै देशका व्यावसायिक प्रतिनिधि, म्यानमारस्थित नेपाली समुदाय तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रमकै बीच नेपाल पर्यटन बोर्ड र म्यानमार टुरिज्म फेडरेसनले आयोजना गरेको संयुक्त बैठकमा नेपाल र म्यानमारका पर्यटन प्रतिनिधिहरूबीच सहकार्यलाई बलियो बनाउने विषयमा छलफल भएको थियो।

नेपाली दूतावासले कार्यक्रमको दोस्रो दिन नेपाली परिकारहरू जस्तै मोमो, सेलरोटी, आलुको अचार र नेपाली चिया समावेश गरिएको ‘लाइभ फुड स्टेशन’ को आयोजना गरेको थियो। म्यानमारमा कार्यरत विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रमुखहरूले नेपाली खानाको स्वाद लिएका थिए।