एपिएफको फाइनल खेल्ने सम्भावना कायम
काठमाडौँ, १३ चैत । एपिएफले बिहिबार कोशी प्रदेशलाई रोमाञ्चक खेलमा दुई विकेटले हराएर प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल्ने सम्भावना कायम राखेको छ । एपिएफ नौ खेलमा आठ खेल जितरे १४ अङ्कका तेस्रो स्थानमा कायम छ । दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब आठ खेलबाट १४ अङ्कका साथ दोस्रो स्थानमा छ । एपिएफभन्दा एक खेल कम खेलेको आर्मी रनरेटमा अगाडि छ । आर्मीले लिग चरणको अन्तिम खेलमा नेपाल पुलिससँग फराकिलो अन्तरले हारेमा एपिएफ फाइनलमा पुग्नेछ । अन्थया पुलिस र आर्मीबिच नै उपाधि भिडन्त हुनेछ ।
रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशालामा लोकेश बमले ५४ बलमा अविजित ८४ रन बनाएपछि एपएिफको जित सम्भव भएको हो ।पहिले ब्याटिङ गर्दै कोशीले बुधबार ५० ओभरमा अलआउट हुँदै २५४ रन बनाएको थियो । एपिएफले ४४.४ ओभरमा आठ विकेट गुमाउँदै २४८ रन बनाएर लक्ष्य हासिल गर्यो । आठौँ क्रममा क्रिजमा आएका लोकेशले छ छक्का र छ चौक्कासहित ८४ रन बनाएपछि एपीएफ जिततर्फ अग्रसर कोशीलाई निराश पार्यो । एपीएफका लागि कप्तान रोहित पौडेलले पनि ६१ रनको उपयोगी पालि खेले । यसैगरी दीपक बोहराले ३६ र सन्दीप जोराले ३० रन बनाए । कोशीका फिर्दोश अन्सारी र दीपेश कँडेलले ३÷३ विकेट लिए ।
यसअघि कोशीका लागि शाकिब हकले ६८, कप्तान अङ्कित सुवेदीले ३५, आइश भट्टराईले ३४ र सुजन थपलियाले ३३ रन बनाएका थिए । एपिएफका अभिषेक गौतम र मौसम ढकालले ३÷३, कप्तान रोहितले २ तथा इर्शाद अहमद र अमरसिंह राउटेलाले एक÷एक विकेट हासिल गरे ।