हाडनाता करणीबाट जन्मेका बालबालिकाको दीर्घकालीन संरक्षण महानगरपालिकाले गर्ने- उपप्रमुख डंगोल

काठमाडौँ, २० चैत्र । काठमाडौँ महानगरपालिकाले हाडनाता करणीबाट जन्मिएका एक बालक र एक बालिकाको दीर्घकालीन संरक्षण व्यवस्थापनका लागि उनीहरूका जैविक आमासँग भेटेरै निर्णय लिने भएको छ।
समितिका संयोजक तथा महानगरका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले हाल अस्थायी संरक्षण गृहमा रहेका ती बालबालिकाको भविष्यबारे छलफल गर्दै उनीहरूका आमालाई पूर्ण गोपनीयताका साथ भेट्ने निर्णय गरेको हो।
भेटघाटमा आमाहरूको इच्छा र शिशुको सर्वोत्तम हितका लागि आवश्यक व्यवस्थाबारे जानकारी लिइनेछ। बैठकले महानगरभित्र सञ्चालनमा रहेका बालगृहहरूको अवस्था अध्ययन गर्ने निर्णय पनि गरेको छ।
छलफलका क्रममा उपप्रमुख डंगोलले पीडित बालबालिकासँग सोधपुछ तथा परामर्शका लागि बालमैत्री कक्ष निर्माण प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभयो। जिल्ला प्रहरी परिसर काठमाडौँको प्रस्तावअनुसार, बालबालिकाको गोपनीयता र बाल न्याय सुनिश्चित गर्न अनुसन्धान अधिकृतले बालमैत्री वातावरणमा अन्तर्वार्ता लिन सक्ने गरी यस्ता कक्षहरू बनाइनेछन्।
बैठकमा जोखिमपूर्ण अवस्थाबाट बालबालिकाको उद्धार, उनीहरूमा पर्ने मनोवैज्ञानिक असर न्यूनीकरण र व्यवस्थापनका जटिलताबारे विस्तृत छलफल भएको थियो।
बाल उद्धार कार्यदलकी संयोजक रसला तण्डुकारका अनुसार, हालसम्म ४२ बालक र ३३ बालिकासहित ७५ जना जोखिमपूर्ण अवस्थाबाट उद्धार गरिएको छ। तीमध्ये ३६ जनालाई पारिवारिक पुनर्मिलन गराइएको, ३८ जना अस्थायी संरक्षण गृहमा रहेको र १ जना भागेको जानकारी दिइयो। उद्धार गरिएकामध्ये ७ बालबालिकासँग सम्बन्धित मुद्दा (४ जबरजस्ती करणी, २ बाल यौन दुर्व्यवहार, १ कुटपिट/दासता) न्यायिक प्रक्रियामा छन्। पछिल्लो बैठकयता थप २२ बालबालिका (१६ बालक, ६ बालिका) उद्धार गरिएकोमा ११ जनाको पुनर्मिलन भएको र ११ जना संरक्षण गृहमा छन्।