‘ध्ये’ खोलामा पुल नहुँदा उपल्लो मुस्ताङका बासिन्दा र पर्यटकलाई वर्षौंदेखिको सास्ती

मुस्ताङ, २४ चैत । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका सबै वडामा कच्ची सडक पुगे पनि एउटा महत्वपूर्ण खोलामा पुल नहुँदा स्थानीय बासिन्दा र पर्यटकहरूले वर्षौंदेखि सास्ती भोग्दै आएका छन्।

गाउँपालिकाको केन्द्र वडा नं. १ चराङलाई कालीगण्डकी पारिको वडा नं. ५ अन्तर्गतका ध्ये र ताङ्ग्या गाउँसँग जोड्ने ‘ध्ये’ खोलामा पुल नहुँदा विशेष गरी बर्खायाममा आवतजावतमा गम्भीर समस्या हुने गरेको छ। यो खोला कालीगण्डकी नदी, उत्तरी कोरलापास र दामोदरकुण्ड क्षेत्रका अन्य शाखा नदीहरूको समिश्रणबाट बनेको छ।

यो मार्ग मुस्ताङको चराङबाट ध्ये र ताङ्ग्या हुँदै मनाङको नाफु जोड्ने छोटो दूरीको महत्वपूर्ण पर्यटकीय पदमार्ग पनि हो। पुलको अभावले यस पदमार्गको सहज उपयोग हुन सकेको छैन।
लोघेकर दामोदरकुण्ड–५ का वडाध्यक्ष पासाङ गुरुङका अनुसार, बर्खायाममा ‘ध्ये’ खोलामा पानीको बहाव अत्यधिक उच्च हुन्छ, जसले गर्दा खोला तर्न असम्भवप्रायः हुन्छ।

“बर्खायामको तीन–चार महिना त हाम्रो गाउँमा पूरै नाकाबन्दी लगाएजस्तै हुन्छ, पुल नहुँदा यताउता जानै मिल्दैन,” उहाँले भन्नुभयो। पुल अभावले ध्ये र ताङ्ग्याका बासिन्दालाई पालिका केन्द्र चराङ र सदरमुकाम जोमसोम पुग्न कठिनाइ हुनुका साथै गाउँमा उत्पादित कृषि उपज र पशुधन बजारीकरण गर्न समेत बाधा पुगेको छ। “हिउँदयाममा खोला घटेपछि मात्र जोखिम मोलेर वारपार गर्ने गरेका छौं,” गुरुङले थप्नुभयो।

स्थानीय बासिन्दाहरू बर्खायाममा आवश्यक पर्ने खाद्यान्न तथा दैनिक उपभोग्य सामानहरू हिउँदमा खोलाको सतह घटेका बेला नै ढुवानी गरेर भण्डारण गर्न बाध्य छन्।

गाउँपालिकाले संघीयता कार्यान्वयनपछि करिब ५०० मिटर लामो पुल निर्माणका लागि पहल गर्दै आएको छ। पूर्वाधार विकास निर्देशनालय र स्थानीय पूर्वाधार विभाग (डोली) जस्ता सरकारी निकायले पुल निर्माणका लागि अध्ययन, सर्भेक्षण र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार पारेका छन्। तर, आवश्यक बजेट विनियोजन नहुँदा पुल निर्माण कार्य अघि बढ्न सकेको छैन।
गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले पुल निर्माणका लागि पटकपटक प्रयास गरिए पनि आवश्यक बजेट अभावका कारण सफल हुन नसकेको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *