वैदेशिक रोजगारको पुँजी र सीप सदुपयोगमा अर्थमन्त्रीको जोड, राष्ट्रिय उत्पादनमा योगदान गर्न आह्वान
काठमाडौँ, २९ चैत । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारीबाट आर्जित पुँजी र सीपलाई नेपालको कुल गार्हस्थ्य उत्पादन(जीडीपी) वृद्धिमा योगदान पुर्याउने गरी सदुपयोग गर्न सबै सरोकारवालाहरूलाई आह्वान गर्नुभएको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३१औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमलाई आज सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले विदेशबाट फर्केका श्रमिकहरूको अनुभव र लगानीलाई राष्ट्रिय विकासमा एकीकृत गर्ने आधार निर्माण गर्न सरकार प्रयासरत रहेको बताउनुभयो।
उहाँले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने व्यवसायीहरूको प्रयासमा सरकारको पूर्ण साथ रहने स्पष्ट पार्नुभयो। साथै, अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकहरूले सम्मानजनक र सुरक्षित रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न अर्थ मन्त्रालय सधैँ सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले युरोपका लागि मागपत्र प्रमाणीकरण प्रक्रियालाई सहज बनाउने र नयाँ रोजगार गन्तव्यहरू पहिचान गर्ने दिशामा मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो। “एक महिनाभित्र युरोपको मागपत्र प्रमाणीकरण सुरु गर्नेछौँ। साथै, वार्षिक न्यूनतम १०० कामदार पठाउनुपर्ने कम्पनी नवीकरणको अव्यावहारिक प्रावधान हटाउन ऐन संशोधन भइसकेको छ,” मन्त्री भण्डारीले भन्नुभयो।
नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले हालै ल्याइएको केही नेपाल ऐन संशोधन विधेयक मार्फत वैदेशिक रोजगार व्यवसायीहरूले झेल्दै आएका कानुनी र प्रक्रियागत बाधा अड्चनहरू हटाइने बताउनुभयो।
यसैबीच, सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले समयसापेक्ष रूपमा ऐन, नियम परिमार्जन गर्न, सेवा शुल्कलाई व्यवहारिक बनाउन र कामदारको लागत घटाउने विषयमा स्पष्ट नीति ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो। उक्त साधारणसभासँगै सङ्घको नयाँ नेतृत्व चयनका लागि निर्वाचन पनि हुँदैछ, जसबाट अध्यक्षसहित २१ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ।