खोटाङमा पहिलो रेडपाण्डा तथा थार महोत्सव सुरु

खोटाङ, २ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लोपोन्मुख रेडपाण्डा र थारको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव २०८२’ आयोजना गरेको छ । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’ को अवसर पारेर पर्यटकीय स्थल हुर्लुङमा सोमबारदेखि सुरु भएको यो महोत्सव दुई दिनसम्म चल्नेछ ।

महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, रैथाने खाना, भेषभूषा, स्थानीय उत्पादनहरू प्रदर्शन गरिएको छ । साथै, रेडपाण्डा र थारका तस्बिर तथा भिडियोहरू पनि प्रदर्शनीमा राखिएको छ । स्थानीयहरू उत्साहित भई आफ्नै लगानी र स्वतःस्फूर्त रूपमा महोत्सवमा सहभागी भएका छन् ।
कार्यक्रमको उद्घाटन नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले गर्नुभएको हो ।

उद्घाटन समारोहमा अर्थशास्त्री हरि रोका, अभिनेता दयाहाङ राई लगायत विभिन्न क्षेत्रका प्रमुख व्यक्तित्वहरूको उपस्थिति थियो । वक्ताहरूले पर्यावरण संरक्षण गर्दै पर्यटन विकासमा जोड दिए ।
यसै अवसरमा ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ नामक नयाँ पदमार्गको पनि शुभारम्भ गरिएको छ । तुवाचुङ–जायजुम हुँदै हुर्लुङ, रूपाकोट, मेरुङ भएर मुन्दुम ट्रेल जोड्ने यो पदमार्गको शुभारम्भ ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ का सद्भावनादूत दयाहाङ राईले गर्नुभएको हो । नगरप्रमुख तीर्थराज भट्टराईले यस महोत्सव र पदमार्गले नगरको पर्यटन र स्थानीय आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ ले करिब एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यसै अवसरमा खोटाङ र भोजपुरका अन्य स्थानीय तहहरूले पनि विभिन्न महोत्सवहरू आयोजना गर्ने तयारी गरेका छन् । सरकारले १०० पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको मुन्दुम ट्रेल खोटाङ र भोजपुरको सिमानामा पर्छ र यसको यात्रा करिब १० देखि १३ दिनको हुने गर्दछ ।