सोलुखुम्बुमा बाबुको खुकुरी प्रहारबाट ५ वर्षीया बालिका घाइते, बालिकाको हेलिकप्टरबाट उद्धार

सोलुखुम्बु, ४ वैशाख । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-९, लोखिममा आफ्नै बाबुको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी एक ५ वर्षीया बालिकालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

गाउँपालिकाले हेलिकप्टर चार्टर गरी बालिकाको उद्धार गरेको हो। बिहीबार बिहान ३२ वर्षीय चामकुमार तामाङले आफ्नै ५ वर्षीया छोरी पवित्रा तामाङलाई धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए। आक्रमणबाट गम्भीर घाइते भएकी बालिकालाई तत्काल स्थानीय थुलुङ दूधकोशी अस्पताल लगिएको थियो।

अस्पतालले बालिकाको अवस्था जटिल भएको र त्यहाँ उपचार सम्भव नहुने भन्दै काठमाडौं रेफर गरेपछि गाउँपालिकाले उद्धारको जिम्मा लिएको हो।

गाउँपालिका अध्यक्ष असिम राईका अनुसार, घटनाको जानकारी पाउनासाथ बालिकालाई अस्पताल पुर्‍याएर प्रारम्भिक उपचार सुरु गरिएको थियो। “यहाँ उपचार सम्भव नदेखिएपछि नागरिकको जीवन बचाउनु स्थानीय सरकारको पनि दायित्व हो भन्ने ठानेर हामीले पालिकाको खर्चमा हेलिकप्टर चार्टर गरी काठमाडौं पठाएका हौं,” अध्यक्ष राईले बताउनुभयो।

आफ्नै छोरीमाथि आक्रमण गर्ने बाबु चामकुमार तामाङ भने घटनापछि फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिकाप्रसाद घिमिरेले फरार बाबुको खोजी कार्य तीव्र पारिएको जानकारी दिनुभएको छ।