महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले प्रदेश सरकारलाई दिइने कर सम्बन्धी छलफल गर्यो

काठमाडौं, १० वैशाख । आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेश सरकारले तर्जुमा गर्ने आर्थिक ऐनमा समावेश गर्नुपर्ने कर सम्बन्धी विषयहरूमा काठमाडौँ महानगरपालिकाले प्रदान गर्ने सुझावहरूका बारेमा आज महानगरपालिकाको राजस्व परामर्श समितिमा व्यापक छलफल भएको छ।

महानगरपालिकाका उपप्रमुख तथा राजस्व परामर्श समितिका संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट माग भएका कर सम्बन्धी सुझावहरू र महानगरपालिकाको राजस्व समितिबाट पेश भएको प्रस्तावमाथि विस्तृत छलफल गरेको हो।

उल्लेखनीय छ कि यसअघि गत चैत २६ गते राजस्व समितिका संयोजक नवराज पराजुलीको संयोजकत्वमा बसेको बैठकले पनि प्रदेश सरकारलाई पठाउनुपर्ने सुझावहरूमाथि प्रारम्भिक छलफल गरेको थियो।

मन्त्रालयले घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन शुल्क, कृषि आय कर, प्राकृतिक स्रोत तथा दहत्तर बहत्तर शुल्क एवं रोयल्टी, सेवा शुल्क, दस्तुर र दण्ड जरिवाना लगायतका क्षेत्रमा निर्धारण गरिने करका आधार, करका दर, कर छुट सुविधा सम्बन्धी नीतिगत, संरचनागत र प्रक्रियागत सुधारका विषयमा सुझाव मागेको छ।

आजको बैठकमा विशेषगरी प्रदेश र स्थानीय सरकारका साझा अधिकार क्षेत्रभित्र पर्ने मनोरञ्जन कर, विज्ञापन कर र जरिवाना छुट लगायतका विषयहरूमा गहन छलफल भएको राजस्व विभागका प्रमुख एवं समितिका सदस्य सचिव दिपक अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार बैठकको निर्णय प्रमाणीकरण भएपश्चात सम्बन्धित सुझावहरू प्रदेश सरकारलाई पठाइने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *