देश बनाउने हो भने स्टन्ट गर्ने होइन, काम गर्ने युवा बनौं : उपप्रमुख डंगोल

काठमाडौं, ११ वैशाख । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो पार्टी नेकपा एमालेले सामाजिक सञ्जालमा भाँडभैलो गर्न र उग्र बन्न नसिकाउने बताउनुभएकाे छ ।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘युथ सेलिब्रेसन’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे ।

आफूलाई एमाले मन पर्नुको कारण खुलाउँदै उहाँले पार्टीले कसैको घर जलाउन वा लुटपाट गर्न युवालाई प्रयोग नगर्ने बताउनुभयाे । ‘एमालेले आफ्नो दश नंग्रा खियाएर राष्ट्रका लागि काम गर्न सधैं प्रेरित गरिरहन्छ,’ उपप्रमुख डंगोलले भन्नुभयाे ‘सोसल मिडियामा भाँडभैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन । एमालेले राम्रा कामका प्रचार प्रसार गर्न युवा शक्तिको सदुपयोग गर्छ । त्यसकारण मलाई एमाले मन पर्छ ।’

उहाँले ‘स्टन्ट’ गरेर देश नबन्ने भन्दै काम गरेर देखाउन युवाहरूलाई आग्रह गर्नुभयाे । ‘अहिले हामी देख्छौं, धेरै जना स्टन्ट गर्नुहुन्छ… तर, स्टन्ट गरेर देश बन्दैन,’उपप्रमुख डंगोलले भन्नुभयाे ‘देश बनाउने हो भने स्टन्ट गर्ने होइन, काम गर्ने युवा बनौं ।’